बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीमा डेङ्गु रोग नियन्त्रणका लागि खोजी र नष्ट अभियान

म्याग्दीमा डेङ्गु रोग नियन्त्रणका लागि खोजी र नष्ट अभियान

एकहप्तामै बेनी नगरपालिका भित्र ५ जना डेंगुका संक्रमित


  • ध्रुवबसागर शर्मा
  • बैशाख २६ २०७७, शुक्रबार

म्याग्दी, २६ बैशाख– हिमाली जिल्ला म्याग्दीमा डेङ्गु रोग नियन्त्रणका लागि खोजी र नष्ट अभियान संचालन गरिएको छ । बेनी नगरपालिकामा एक हप्ताको अवधिमा नै ५ जनामा डेंगु पेजेटिभ भेटिएसँगै डेङ्गु रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तिब्रता दिइएको हो ।
एडिस एजिप्टाइ जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा रोग खोज्ने र नष्ट गर्ने कार्य सहित डेंगु नियन्त्रणको योजना बनाउन वडास्तरमा अभिमुखिकरण सहित टोल–टोलमा जनचेतनामुलक कार्यक्रम समेत शुुरू गरिएको छ । म्याग्दीमा शुक्रवारसम्म ७ जनालाई डेंगु पेजेटिभ भेटिएको बेनी अस्पताल म्याग्दीले जनाएको छ ।
एकहप्तामै बेनी नगरपालिका भित्र ५ जना डेंगुका संक्रमित भेटिएपछि बेनीबजारमा सवारीसाधन मर्मत गर्ने ग्यारेजबाट टायर नष्ट गर्ने, वडास्तरीय कार्ययोजना बनाउन जनप्रतिपनिधिको अगुवाईमा टोल सुधार समिति सहितको भेला गरिएको बेनपा–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए ।
लामखुट्टेको बासस्थान पहिचान र नष्ट गर्ने रणनीति बनाएर टोल–टोलमा अभियान सुरू गरेको छ भने वडा नं ८ ले कार्ययोजना बनाएर सचेतनामुलक अभियानलाई तिब्रता दिएको वडा अध्यक्ष रामकृष्ण बराईलीले बताए । सरोकारवालाहरुको लागि अखिमुखीकरणका साथै डेङ्गु नियन्त्रणका लागि रणनीति तयार पारिएको अध्यक्ष बराईलीको भनाई छ ।
नगरभित्रका १० वटै वडामा कार्ययोजना, टोलटोलमा अभियानसँगै लामखुट्टेका बासस्थान हुने पानी जम्ने टायर, खाल्डाखुल्डी, झाडी पहिचान गरेर हटाउने जनाइएको छ । बजार क्षेत्रमा टोललाई सक्रिय बनाएर डेंगुको जोखिमस्थलको पहिचान गरी नष्ट गरिने र ग्रामिण क्षेत्रमा समेत सचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिने नगरप्रमुख हरिकुमार श्रेष्ठको भनाई छ ।
बजार क्षेत्रमा नेपाल प्रहरी र नेपाली सेनाको सहयोग समेत लिने जनाइएको छ । नगरपालिका भित्रका वडामा स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्साल र नगरपालिकाको स्वास्थ्य शाखा संयोजक लीला गौतमले सहजिकरण गर्नुभएको छ । डेंगु एक बिरामीबाट अर्को बिरामीमा समेत सजिलै संक्रमण फैलिने भएकाले सतर्कता अपनाउनुपर्छ ।
डेंगुबाट जोगिन बनजंगलमा घाँस दाउरामा ल्याउन जाने, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने लगायतका सर्तकता आवश्यक रहेको बेनी अस्पतालका चिकित्सकको भनाई छ । कोभिड–१९ विरुद्ध जारी लकडाउनको समयमा ग्रामीण भेगमा डेंगु भेटिएपछि जिल्लामा डेंगुको जोखिम बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
लामखुट्टेको टोकाइबाट यो रोग सर्ने भएकाले आफ्नो घर वरिपरि पानी जम्न नदिई सफा राख्न पनि नगरपालिकाले सबैसंँग आग्रह समेत गरेको छ ।
कोरोना भाइरसको जोखिम हुन नदिन अहिले लकडाउनको अवस्थामा सामाजिक दूरी कायम राख्दै विशेषगरी बजार क्षेत्रमा रहेका ग्यारेज, पानी जमेका सडकका खाल्टाखुल्टीमा कीटनाशक औषधि छर्कनाका साथै डेङ्गु रोगबारेमा जानकारी दिने उद्देश्यले बेनी बजारको सरसफाइ समेत गरिएको छ ।
डेङ्गु भाइरसद्वारा सङ्क्रमित ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ ।
एक्कासि उच्च ज्वरो आउनु, असाध्यै टाउको दुख्नु, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु, ढाड जोर्नी तथा मांसपेशी दुख्नु, शरीरमा बिबिरा आउनु, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोस हुने जस्ता लक्षण देखिएमा डेङ्गु रोगको सङ्क्रमण हुन सक्ने भएकाले तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन नगरप्रमुख श्रेष्ठले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->