पोखरा, २६ बैशाख – नेपाली कांग्रेस कास्कीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाई कोरोना उपचार अस्पताल बनाउन नहुने वताएको छ । कांग्रेसले सर्वसाधारण जनताले सर्वसुलभ रुपमा स्वास्थ्य उपचार सेवा पाउने अस्पताललाई कोरोना अस्पताल बनाउने योजना अव्यवहारिक भएको भन्दै अन्य विकल्प खोज्न माग गरेको हो ।
‘यो अस्पताललाई कोरोना अस्पताल बनाउँदा सर्वसाधारण र अन्य बिरामीको उपचारमा ठूलो समस्या आउँछ, तसर्थ अन्य विकल्प खोजौँ’, विज्ञप्तिमा भनिएको छ, ‘सर्वसाधारण नागरिकलाई सर्वसुलभ स्वास्थ्य उपचार सेवाबाट बञ्चित नगरौँ ।’
विज्ञप्तिमा सो अस्पताललाई कोरोना अस्पताल बनाउँदा वार्षिक रुपमा ओपीडीमा सेवा लिदै आएका करीब तीन लाख नागरिक नराम्ररी प्रभावित हुने उल्लेख छ ।विज्ञप्तिमा दैनिक रुपमा २० देखि २५ जनाको सुत्केरी, मासिक एक हजार दुई सय जना एचआईभी संक्रमितको उपचार, हप्तामा एक सय १० जनाको डायलासिस, दैनिक करीब दुई सय जनाले इमर्जेसी उपचार सेवा र दैनिक पाँच सयले प्रयोगशाला सम्बन्धी सेवा प्रभावित हुने तर्क गरिएको छ ।
विज्ञप्तिमा करीब तीन सय कर्मचारीको रोजगारीमा समेत खेलवाड नगर्न सरकारको ध्यानाकर्षण गराइएको छ । विज्ञप्तिमा सरकारले अझै पनि स्वास्थ्यकर्मीका लागि आवश्यक पीपीई उपलब्ध गराउन नसकेको भन्दै तत्काल स्वास्थ्यकर्मीका लागि पीपीई व्यवस्था गर्न र कोरोना परीक्षणको दायरा बढाउन माग गरेको छ । कांग्रेुले एकद्धार प्रणालीबाट राहत बितरण गरिँदा आवश्यकता भएकाहरुले राहत नपाएको जिकिर गर्दै राहत दिन चाहने व्यक्ति र संघ/संस्थालाई रोक नलगाउन माग गरेको छ । किसानको लागि बीउबिजन र मल समयमै उपलब्ध गराउनेतर्फ पनि कांग्रेसले चासो राखेको छ ।





