बागलुङ, २९ वैशाख– आर्थिक बर्षको पहिलो चौमासिकसम्म कुनै काम नगर्ने सरकारी संस्कृतिले धेरै काम रोकिन्छन् । चालु बर्ष त चैत पहिलो सातादेखि सुरु भएका काम पनि रोकिएका छन् । त्यसले बिकास बजेट र योजनाहरु अलपत्र पर्ने निश्चित जस्तै छ ।
तर बागलुङकै बडिगाड गाउँपालिकाको फरक बिशेषता बनेको छ । भदौ १ गतेदेखिनै योजना सम्झैता गरेर काम थालेकोले अधिकांस योजना पुरा हुने अबस्थामा पुगेका छन् । ‘सुरुमै तातेर काम थालेकोले कोरोना संक्रमणको जोखिम र लकडाउनले धेरै असर गरेन’ गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले भने, ‘सुरुमा अप्ठ्यारो मान्ने उपभोक्ता समिति र कर्मचारीले अहिले ठीक रहेछ भनिरहेका छन् ।’ बढीमा ७ प्रतिशत योजना मात्र बाँकी रहेको भन्दै पाइजाले जेठ र असारमा काम गर्न पाएमा ९५ प्रतिशत बढी सफलता पाउने बताए ।
अख्तियारी नआएको लगायतका बहाना बनाउने जनप्रतिनिधि र कर्मचारीका लागि पाइजाको योजना उदाहरणीय बन्ने भएको छ । बडिगाडले गत भदौबाट योजना सम्झौता गरेर असोज पहिलो साताबाट काम थालेको थियो । गाउँपालिकाले सार्वजनिक सूचनासमेत जारी गरेर भदौं मसान्तसम्म अनिवार्य उपभोक्ता समिति गठन गरिसक्ने र योजना सम्झौता गर्न बोलाएको थियो । तत्कालिन प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीको यो अभियानमा साथ पाएको पाइजा बताउँछन् ।
गत बर्षको वैशाखमै वडा स्तरीय भेलाले योजनाहरु छनौट गरिसकेकोले चालु बर्षको थालनीमै सम्झौताका लागि माग गर्न सकिएको उनले बताए । ‘अब काम गरेर देखाउने हो, असार लाग्दा योजना ल्याउने, मसान्तमा पैसाको खोलो बगाउने काम अब हामी गर्दैनौं’ उपाध्यक्ष अमरबहादुर श्रीषले भने, ‘सोही अनुसारको काम पनि भएकै थियो, विश्वव्यापी महामारीले केही काम रोकिनुमात्र हाम्रो सफलताको बाधक भयो ।’ आगामी आर्थिक बर्षका लागि पनि लकडाउन खुलेलगत्तै वडा स्तरीय योजना तर्जुमा गोष्ठी राख्ने उनले बताए । बजेट दुरुपयोग हुने र भ्रष्ट्राचारको अखडा बन्ने अबस्था नल्याउन पालिकाले बिकास योजनामा कडाई गरेको उनले बताए ।
बडिगाड गाउँपालिकाले आफ्नो २५ बर्षे दिर्घकालिन योजना निर्माणको कामसमेत थालेको छ । पाइजाका अनुसार, हरेक ५ बर्षमा मूल्यांकन गर्नेगरी आवधिक योजनाको खाका र दिर्घकालिन योजनाका लागि तत्कालिन आवस्यकता पुरा गर्ने, लगानी पनि निरन्तर गर्ने गाउँपालिकाको योजना छ । ‘आर्थिक बर्ष २०७६÷०७७ मा ६ वटा परिवर्तन गराएर दिर्घकालिन योजनाको खाका कोर्ने योजनाअनुसार काम भैरहेको छ, लकडाउनले केही असर पुग्यो’ उनले भने, ‘दिर्घकालिन योजना पुरा हँदा गण्डकी प्रदेशको नमूना स्थानीय सरकार बन्ने लक्ष छ ।’ पाइजाका अनुसार, गाउँपालिकाले कृषि र पशुपालनको व्यवसायिकीकरण गर्ने योजना बनाएको हो ।
आर्थिक र सामाजिक बिकासका लागि विकृतीबिरुद्ध अभियान संचालन गरिसकेको छ । यो गाउँपालिकाभित्रका योजनामा उपभोक्ता समितिमा बस्नसमेत बिकृतिमा नलाग्ने सपथ खानुपर्छ । ‘बिद्यालय तहका बालबालिका जोगाउन पनि अभिभावकलाई समेत कडाई गरिएको हो’ उनले भने । खरवाङदेखि सिसाखानी, जलजला, रणसिंकिटेनी, भीमगिठे, दर्लिङहुँदै प्युठान जोड्ने सडक र मध्यपहाडी लोकमार्ग खण्डलाई व्यवस्थित बनाउने योजनासमेत धमाधम काम भएको छ । यो कामको गतिले पनि मुख्य योजना पुरा गर्ने लक्ष पुरा हुने उनले बताए ।
कोरोना कहर र लकडाउनबीच गाउँपालिकाले सामाजिक दुरी कायम गरेर सडक निर्माणमा तीब्रता दिएको थियो । चालुबर्ष रणसिंकिटेनीमा सडक पु¥याउने लक्षपनि भेट्न लागेको उनले बताए । कुल लगानीको मापन गर्न पहिलो पटक गाउँपालिका स्तरीय योजना आयोगको गठन भएको छ । समयमा काम सम्पन्न भएका योजनालाई प्रमाणपत्र दिने, नभएकालाई तत्काल कारवाही गर्ने र बाह्रै महिना सहज यात्रा गर्न सकिने सडक बनाउने गाउँपालिकाको कार्यक्रमसमेत छ ।
गाउँपालिकाले ५० लाख बढीका योजनामा बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर मात्र काम गर्ने नीति लिएको छ । भवन र सडक निर्माण मापदण्ड लागू गरिएको अध्यक्ष मेहरसिंह पाईजाले बताए । ढुंगागिटी बालुवा र अन्य खानी संचालनका लागि अनिवार्य सूचिकृत गर्नुपर्ने, फोहोरको दिर्घकालिन व्यवस्थापनका लागि व्यवस्थित ल्याण्डफिल्ड बनाउने योजना छ ।





