सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नियमित सरसफाईले भाइरल फिबरका बिरामी घटे

नियमित सरसफाईले भाइरल फिबरका बिरामी घटे


  • ढोरपाटन संवाददाता
  • बैशाख ३१ २०७७, बुधबार

बागलुङ, ३१ वैशाख – ज्वरो र रुघाखोकीका बिरामीले स्वास्थ्य संस्था भरिभराउ हुने समय हो यो । गर्मी मौसम सुरु भएसँगै बरेङ गाउँपालिका र जैमिनी नगरपालिकाको स्वास्थ्य शाखा तयारी अवस्थामा थियोभने बागलुङ नगरले औषधिको उपलव्धता खोज्दै थियो ।
विगतका वर्षमा मौसम परिवर्तन हुँदा यहाँका स्वास्थ्य संस्थामा बिरामीको भीड लाग्थ्यो । स–साना बालबालिकादेखि बृद्धासम्म सुकसुकाउँदै स्वास्थ्य संस्थामा आउँथे । तर, यो बर्ष जिल्लाका कुनैपनि स्वास्थ्य संस्थामा गम्भिर प्रकृतिको ज्वरोका बिरामी आएका छैनन् । ‘दिनमै ५०÷६० जना बच्चाको ज्वरो जाँचेर औषधि चलाउथेँ तर यो पटक दैनिक मुस्किलले ५÷७ जना आउँछन्’ बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले भने ‘जाँचका लागि आउने बच्चाहरुमा ज्वरो कमै छ, अरु सामान्य समस्या देखिन्छन् ।’
रुघाखोकी र ज्वरोजस्ता मौसमी समस्या भएर पनि सर्वसाधारण स्वास्थ्य संस्थामा नआएका भने होईनन् । जिल्लामै रहेर लामो समय काम गरेका स्वास्थयकर्मीको लागि यो बर्षको गर्मी मौसम आश्चर्यको विषय बन्यो । ‘हाम्रो स्वास्थ्य संस्थामा बिरामीको चाप छैन, स्वास्थ्य स्वयंसेविकाहरुले गर्नुभएको रिपोटिङमा गाउँका कसैलाई ज्वरो आएको छैन’ बरेङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले भने ‘मौसम परिवर्तन हुँदा पनि बिरामी नआउँदा नौलो लाग्यो ।’
कोरोना भाईरसबाट बच्न साबधानी अपनाउन भैरहेको प्रचार प्रसारले यसबर्ष बागलुङमा ज्वरो र रुघाखोकीका बिरामी कम छन् । बन्द रहेका विद्यालय, सार्वजनिक स्थान, यातायात तथा धेरै मान्छेको जमघट कम हुनुले पनि सरुवा रोग ज्वरोका बिरामी घटेको जैमिनी नगरपालिका–९ पैञ्युथन्थाप स्वास्थ्य चौकीका प्रमुख लक्ष्मी शर्माले बताए । ‘विद्यालय जाँदा बालबालिकामा रुघाखोकी एकअर्कामा सर्ने गरेको थियो, विद्यालय बन्द हुँदा त्यो सम्भावना रहेन’ शर्माले भने ‘कमजोर स्वास्थ्य अवस्था भएकाहरुमा एकाध देखापरेको भएपनि सरेको देखिएन ।’ कोरोनाबाट बच्न नियमित हात हुने, राम्रोसँग पकाएको खाने, हात नमिलाउने र सामाजिक दुरी कामय गर्नेबारे भैरहेको प्रचारलाई सर्वसाधारणले प्रयोगमा ल्याएका छन् ।
नियमित सरसफाईकै कारण रुघाखोकी र ज्वरोको संक्रमणसमेत नियन्त्रणमा रहेको जैमिनी नगरका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्य बताउँछन् । कोरोनाका मिल्दाजुल्दा लक्षणहरु मौसमी रुघाखोकीमा देखिने भएपनि त्यो खालको समस्या जिल्लामा नरहेको स्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी घनश्याम सापकोटाले बताए । ‘यो बेला मौसमी ज्वरो आएको भएपनि हल्ला ठुलै हुन्थ्यो तर कहिँकतैबाट त्यो खालको सूचना आएको छैन’ सापकोटाले भने ‘कोरोनाका कारण परेको यो सकरात्मक प्रभाव हो ।’
नियमित सरसफाईमा ध्यान दिँदा मात्रै मौसमी सरुवा रोगहरुबाट बच्न सकिने पाठ कोरोनाले सिकाएको स्वास्थ्यकर्मीहरु बताउँछन् । कोरोनाको संक्रमण नियन्त्रण र रोकथामका लागि तयारीमा रहेका स्वास्थ्य संस्थालाई मौसिमी रोगका बिरामी नआउँदा समय दिन सहज भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->