`

गण्डकीमा फेरी बढ्यो कोरोना जोखिम, थपिए एक संक्रमित

  • नवलपुरका संक्रमित र बागलुङका शंकास्पदलाई आईसोलेसनमा राखियो

    • ढोरपाटन संवाददाता
    • बिहिबार, जेष्ठ १, २०७७

    पोखरा, १ जेठ – गत चैतमा कोरोना संक्रमण पुष्टि भएका बागलुङका दुई संक्रमित निको भएर घर फर्किएपछि जोखिम कम भएको महशुस गरिएको गण्डकी प्रदेशमा पुनः बिरामी देखा पर्न थालेका छन् । नवलपुर जिल्लामा विहिवार एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशको जोखिम बढेको हो ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, बिहिबार नवलपुर जिल्लाको देवचुली नगरपालिका– १२ का ४९ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको बिज्ञप्तीमा उल्लेख छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ ।
    देवचुली नगरपालिकाका ती पुरुष भारतको कलकत्ताबाट रक्सौल हुँदै मंगलवार राती भरतपुर आइपुगेका थिए । उनलाई बुधवार भरतपुर अस्पतालमा कोरोना जाँच गर्दा पोजेटीभ भेटिएको भरतपुर अस्पतालले जनाएको छ । उनको अहिले भतरपुर कोरोना अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।
    बागलुङमा कोरोना आशंकामा एक वृद्ध महिला आइसोलेसनमा
    चैतमा दुई कोरोना संक्रमित देखिएको बागलुङमा फेरी अर्का एक महिलामा कोरोनाको आशंकामा आईसोलेसनमा राखिएको छ । धौलागिरी अंचल अस्पताल बागलुङका अनुसार, गल्कोट नगरपालिका–६ चरौदीकी ६५ बर्षिया महिलालाई कोरोनाको शंकास्पद लक्षण देखिएपछि आईसोलेसनमा राखिएको हो । उनको थ्रोट स्वाब संकलन गरि परीक्षणका लागि पोखरा पठाईएको अस्पतालका प्रमुख डा. शैलेन्द्र वि पोखरेलले जानकारी दिए ।
    डा. पोखरेलले उच्च ज्वरो र खोकी रहेका कारण उनलाई आईसोलेसनमा राखेर उपचार थालेको बताए । गलकोटकै स्वास्थ्य संस्थामा सामान्य उपचारपछि बागलुङ आएकी ति महिलामा देखिएका लक्षण कोरोनासँग मिल्दाजुल्दा रहेको अस्पतालले जनाएको छ । मुटुको समेत समस्या रहेकी उनलाई उच्च निगरानीमा राखेर उपचार भैरहेको छ ।
    विहिवार साँझसम्म उनी लगायत बागलुङबाट पठाईएका १४ जनाको थ्रोट स्वावको नतिजा आउने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । पर्सामा संक्रमित भेटिएका मजदुरहरु बोकेर गएको बसका चालक तथा सहचालक, सम्पर्कमा आएका व्यक्ति, भारतको नयाँ दिल्लीबाट आएका दुई जना लगायत मंगलबार र बुधबार संकलन गरिएका १४ वटै स्वाब बिहिबारमात्रै पोखरा पठाईएको छ ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology