बागलुङ, २ जेठ – धौलागिरी अस्पतालमा उपचाररत गलकोट-६ हरिचौरकी ६५ बर्षिया वृद्धा महिलाको कोरोना रिपोर्ट नेगेटीभ आएको छ । उपचारका लागि अस्पताल आएकी उनमा कोरोनाको लक्षणहरु देखापरेपछि अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको थियो । उनको स्वाव परिक्षणका लागि विहिवार प्रादेशिक प्रयोगशाला पोखरा पठाएको थियो । स्वावको परिक्षण रिपोर्ट नेगेटीभ आएको अस्पतालले जनाएको छ ।
यसैविच, कोरोना परिक्षणका लागि शुक्रवार जिल्लाको गलकोट नगरपालिकाका ५५ जनाको स्वाब संकलन गरिएको छ । केही दिन अगाडी गलकोटबाट पर्सामा गएका १४ मजदुरमा कोरोना पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका स्थानीयहरुको स्वाब परीक्षण गर्न सुरु गरिएको हो । स्वास्थ्य संस्था, जनप्रतिनिधि र स्थानीयहरुको कन्ट्याक्ट ट्रेसिङ गरि स्वाब संकलन भइरहेको गलकोट नगरपालिकाका प्रवक्ता हेमबहादुर भण्डारीले जानकारी दिए । वडा नम्बर ३ का २६ जना र वडा नम्बर ५ का २९ जना गरि ५५ जनाको स्वाब संकलन गरिएको भण्डारीले वताए ।
स्थानीय, स्वास्थ्यकर्मी र जनप्रतिनिधि गरि करिब १ सय १० जनाको स्वाब लिएर परीक्षण गरिने तयारी छ । बाँकीको शनिबार स्वाब संकलन गरिने छ । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले सबैको स्वाब संकलन गरेर एकै पटक परीक्षणको लागि पोखरा पठाउने बताए।





