बागलुङ, ३ जेठ– बागलुङमा पहिलो डेंगुका बिरामी फेला परेका छन् । धौलागिरी अस्पतालमा शुक्रबार पहिलो डेंगुका बिरामी फेला परेका हुन् । जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीकी २३ वर्षिया महिलामा डुेंगुको संक्रमण देखिएको अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र बिक पोखरेलले जानकारी दिए । आँखाको डिल दुख्ने, ज्वरो आउने लगयताका लक्षण देखिएपछि उनलाई स्थानीय स्वास्थ्य चौकीले धौलागिरी अस्पताल बागलुङ पठाएको थियो । उनको अस्पतालमा उपचार भैरहेको डा. पोखरेलले बताए । गत बर्षको गर्मी मौसममा बागलुङमा दश जनामा डेंगुको संक्रमण देखा परेको थियो । यो बर्ष पनि संक्रमण सुरु भएकाले सचेत रहन अस्पतालले सर्वसाधारणलाई आग्रह गरेको छ । छिमेकी जिल्ला म्याग्दीमा केही दिन पहिलादेखि डेंगुको संक्रमण फैलिईरहेको भएपनि बागलुङमा कुनै सावधानी अपनाईएको थिएन । बागलुङ नगरपालिकाले सार्वजनिक सूचनामार्फत डेंगुबाट बच्न आग्रह गरेको छ । तर जिल्लाका अन्य पालिकाले भने कुनैपनि अभियान चलाएका छैनन् । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगबाट साबधानी अपनाए बच्न सकिने डा. पोखरेलले बताए । कोरोनाको त्रास रहेको बागलुङमा डेंगुले थप त्रास फैलाएको उनको भनाई छ ।





