बागलुङ, ७ जेठ– दुई जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएसंगै ढुक्कको सास फेरेका बागलुङबासीले एकाएक विदेश र अन्तर जिल्लाबाट आउजाउ हुने क्रम बढेपछि फेरि त्रासको महशुश गर्न थालेका छन् ।
गत साता गलकोटबाट पर्सा गएका मजदुरहरुमा कोरोना भेटिएपछि एकाएक त्रसित बनेको बागलुङ, गलकोटका १ सय ९ जनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएपछि शान्त बन्दै थियो । तर, भारतबाट भित्रिएका बासिन्दा गाउँ फर्केन थालेपछि अर्को तनाब थपिएको पालिकाका प्रमुखहरुको गुनासो छ । आएकाहरुलाई स्वास्थ्य परीक्षणबिनै गाउँ पठाइएको भन्दै प्रशासनसंग पालिका प्रमुखहरुले आक्रोस पोखेका हुन् ।
‘अहिलेसम्म सुरक्षित भयौं/थियौं, तर भारतबाट आएकालाई परीक्षण पनि नगरी घर पठाउने काम राम्रो भएन’ ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले भने, ‘यता आएर संक्रमण फैलाए भने को जिम्मेवार हुने ?’ जिल्ला प्रवेश गर्ने बेलामा मालढुंगामै स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश गराउनु पर्ने काम नभएको उनले टिप्पणी गरे । सदरमुकामदेखि १ सय किमी पश्चिममा आइसकेकालाई सुरक्षित राख्ने र समुदायमा संक्रमण हुन नदिने चुनौती बढेको उनले बताए ।
मंगलबार मात्रै बागलुङका १९ जना फर्केका थिए । तीमध्ये ३ जना सदरमुकामकै एक क्वारेन्टाइनमा बसेका छन् । उनीहरु बानपा १० भकुण्डेका एकै परिवारका हुन् । अरु १६ जना गाउँतहमै फर्किएका छन् । यसरी फर्केका ४ जनालाई ताराखोला गाउँपालिकाले साँदीमै क्वारेन्टाइन बनाएर राखेको छ । भारतको लखनउमा उनीहरु १२ दिन लगाएर बागलुङ आएका हुन् । गाउँपालिकाले खानेबस्ने व्यवस्थापन गराएको अध्यक्ष प्रकाश घर्तीले बताए । ‘उनीहरुको तत्काल स्वास्थ्य परीक्षण गराउनुपर्छ भनेर मैले पनि ध्यानाकर्षण गराएको छु’ घर्तीले भने, ‘सोझै गाउँ पठाएपछि अरु संक्रमणको जोखिम त बढ्छ, तर आफ्ना नगरिकलाई सुरक्षित राखिनेछ ।’
तराइका असुरक्षित क्वारेन्टाइन बनाएर राख्दा बसेका सबै संक्रमित हुने खतराको काम नगरिने उनले जानकारी दिए । भारतको विभिन्न स्थानमा मजदुरी गर्नेहरु मंगलबार १९ जना बागलुङ फर्केका थिए । उनीहरुलाई स्थानीय पालिका, प्रहरी र प्रशासनको समन्वयमा उद्दार गरेर ल्याईएको हो । भारतबाट आएपछि उनीहरु कैलालीमा बसेका थिए ।

सदरमुकाममा नराखिकनै उनीहरुलाई सोझै सम्बन्धित पालिकामा पठाइएको छ । जिल्लामा राखेर पीसीआर परिक्षण गरेर मात्र पठाउनुपर्नेमा सोझै पठाएपछि जनप्रतिनिधिमा समेत डर फैलिएको उनीहरुले गुनासो गरे । यसरी फर्कनेमा सबैभन्दा धेरै ढोरपाटन नगरपालिकाका ८ जना छन् । त्यसबाहेक तमानखोलाका ४ जना, ताराखोला गाउँपालिकाका ४ जना, र बागलुङ नगरपालिकाका ३ जना छन् । उनीहरुमध्ये बागलुङ नगरपालिकाका ३ जनालाई रमेटारस्थित धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा राखिएको छ । अन्यलाई पालिकामा पठाइएको हो । मंगलबार घर हिँडेका मजदुरलाई गलकोट नगरपालिकाले खाना खुवाएर पठाएको थियो ।
ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकाले बनाएका क्वारेन्टाइनमा पहिलो पटक मानिस राख्न लागेको बताए । यसअघि क्वारेन्टाइन बनेपछि बाहिरबाट आएका मानिस राख्नु परेको थिएन । केही शंकास्पदहरु हेम क्वारेन्टाइनमा बसेर स्वस्थ्य भएका थिए । मंगलबार कैलालीबाट बागलुङ आइपुगेकाहरु पनि सबै स्वस्थ्य रहेको जिल्ला स्वास्थ्य प्रमुख सुरज गुरौले बताए । उनीहरुलाई ५ दिनपछि बसेकै क्वारेन्टाइनमा पुगेर स्वाब संकलन गर्ने तथा पीसीआर परीक्षण गरिने बताए ।
मंगलबार फर्केपनि कैलालीमा अझै १० जना अलपत्र परेको भेटिएको छ । तीमध्ये बागलुङ र जैमिनी नगरपालिकाका ३÷३ जना, काठेखोलाका १, ताराखोलाका १ र गलकोट नगरपालिकाका २ जना रहेको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । पछिल्लो समय स्थानीय पालिकाहरु नीति तथा कार्यक्रममा व्यस्त बन्न थालेकोले आउन चाहने नागरिकलाई समन्वय गरिदिन उनीहरुले जिल्ला कमाण्ड पोष्टलाई आग्रह गरेको बताए ।





