`

स्वाव संकलन : अब गाउँका प्राबिधिकले पनि गर्न सक्छन्


  • ढोरपाटन संवाददाता
  • बिहिबार, जेष्ठ ८, २०७७

बागलुङ, ८ जेठ– बागलुङका दशवटै स्थानीय तहमा रहेका स्वास्थ्य प्राबिधिकहरुले कोरोना परीक्षणका लागि लिईने थ्रोट स्वाव संकलन गर्न सक्ने भएका छन् । स्वास्थ्य कार्यालय बागलुङका अनुसार, आवश्यक तालिम र परामर्शपछि उनीहरुलाई स्वाव संकलन गर्न सक्नेगरि तयार गरिएको हो ।
सदरमुकाममा रहेका केही निजी पोलिक्लिनिक, गलकोट र बडिगाड गाउँपालिकामा रहेका निजी स्वास्थ्य संस्थामा कार्यरत प्राविधिकहरुले समेत स्वाव संकलनबारे तालिम लिएको कार्यालयले जनाएको छ ।
गण्डकी प्रादेशिक स्वास्थ्य निर्देशनालयको आयोजना र स्वास्थ्य कार्यालय बागलुङको संयोजनमा बिहिबार जिल्लाभरका ३० जना स्वास्थ्य प्राबिधिकलाई स्वाब संकलन सम्बन्धि तालिम दिईएको छ । उनीहरुलाई आपसी सहकार्य र सावधानीका साथ स्वाव संकलन गर्ने बिधिबारे जानकारी गराईएको स्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन डिल्ली आचार्यले बताए । ‘अब हरेक पालिकामा रहनुभएका प्राविधिक साथीहरुले पनि स्वाव लिन सक्नुहुन्छ’ उनले भने ‘संख्यामा धेरै भए जिल्लासँगको समन्वयमा काम हुन्छ ।’
कोरोना संक्रमितको सम्पर्कमा आएका र भारत लगायत बाहिरी जिल्लाबाट आएका शंकास्पद बिरामीको स्वाव लिनुपर्ने भए सदरमुकामबाटै स्वास्थ्य प्राबिधिकको टोली पठाउने गरिएको थियो । यसभन्दा पहिला धौलागिरी अस्पताल र स्वास्थ्य कार्यालयका प्राबिधिकले मात्रै स्वाव संकलन गर्दै आएका थिए ।
निर्देशनालयले तालिम दिएसँगै जिल्लाभर ३२ जनाभन्दा धेरै स्वास्थ्य प्राबिधिकहरु थ्रोट स्वाव संकलन गर्न सक्ने अवस्थामा रहेको कार्यालयले जनाएको छ । बिहिबार एक दिनका लागि आयोजना गरिएको तालिममा निर्देशनालयका डा. सञ्जिवमणी रेग्मी लगायतले सहजिकरण गरेका थिए । सबै स्वास्थ्य प्राबिधिकहरुलाई संकटको सामना गर्न तयारी अवस्थामा रहन उनले निर्देशन समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology