बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकीको संसदमा पोखियो देशप्रेम

गण्डकीको संसदमा पोखियो देशप्रेम


  • श्याम राना मगर
  • जेष्ठ १२ २०७७, सोमबार

पोखरा, १२ जेठ– गण्डकी प्रदेशको बजेट अधिवेशन आइतबारदेखि सुरु भएको छ । नदिपुरको भवनमा सामाजिक दूरी कायम राख्न नमिल्ने भएपछि पोखरा सभागृहमा अधिवेशन चलाइएको छ । बजेट अधिवेशनको पहिलो दिन सदनमा राष्ट्रियताबारे ठूलै चर्चा चलेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘देशका सपूत’को संज्ञा दिएका छन् ।
नेपालको नयाँ नक्सा जारी गर्नु केपी ओलीको ठूलो सफलता भएको जिकिर गर्दै उनले बिरालोको घाँटीमा घण्टी झुड्याउने काम उनैबाट भएको पनि बताए ।
‘नेपालमा कतिजना प्रधानमन्त्री भए ?’, गण्डकी प्रदेशको बर्खे अधिवेशनलाई आइतबार संवोधन गर्दै उनले भने, ‘बिरालोको घाँटीमा घण्टी झुण्ड्याउने त माननीय केपी शर्मा ओली नै हो नि ! लुकाएर लुकाउन मिल्छ र ! आफूले केही नगर्ने, अरुले गर्दा पनि कुरा काट्ने चाहिँं हुँदैन । नेपालको एउटा सपूत हो केपी ओली । यो हिसाबमा । मेरो पार्टीको अध्यक्ष भनेर मैले भनेको होइन । मैले नेपाल सरकारको प्रधानमन्त्री भनेर पनि भनेको होइन ।’ भीमसेन थापादेखि जंगबहादुर राणा अनि केपी ओलीसम्मको चर्चा गर्ने क्रममा उनले केपी ओली भाग्यमानी भएको जिकिर पनि गरे ।
‘मरिसक्या मान्छे बाँचेर आयो । सायद, हाम्रो नेपालको सीमा फिर्ता ल्याउनु रैछ । पाखो फिर्ता ल्याउनु रैछ’, उनले भने, ‘त्यो अवसर त उहाँलाई मिल्यो ।’ उनले नक्सा सार्वजनिक भएपछि वास्तविक लडाइँ सुरु भएको र यो लामो हुने जिकिर पनि गरे । उनले आफ्नो माटोको सुरक्षाको लागि, आफ्नो सार्वभौमिक अखण्डताको लागि, आफ्नो स्वाधिनता र स्वतन्त्रताको लागि हामी कोही कम्युनिष्ट, कोही कांग्रेस, कोही राप्रपा, समाजवादी केही पनि नभएर सबै नेपाली बन्नुपर्ने बताए । उनले कोरोना भाइरसले नेपालीहरुलाई अवसर सृजना गराएको जिकिर गर्दै कोरोनाकै कारण स्वास्थ्य क्षेत्र सुधारका काम भएको बताए ।
अधिवेशन सुरु गर्दै सभामुख नेत्रनाथ अधिकारीले समाजवादीका सांसद हरिशरण आचार्यलाई बोल्ने पालो दिए । सांसद आचार्यले रोस्टममा उभिएर छैटौं अधिवेशनसम्म आइपुग्दा प्रदेश सरकार दुखद र चुनौतीपूर्ण अवस्थामा उभिएको बताए । मुलुक चुनौतिमा उभिएको बेला अवसर पनि बन्नसक्ने उनले तर्क राखे । ‘अहिले हामी चुनौतीपूर्ण अवस्थामा उभिएका छौं । फरक परिवेशमा अधिवेशन सुरु भएको छ’, उनले भने, ‘कोभिड–१९ ले अर्थतन्त्रमा ठुलो प्रभाव पारेको छ । यो विश्वयुद्ध भन्दा ठूलो साबित भयो ।’ यो चूनौतिपूर्ण अवस्थाको उचित ढंगले समन्वय गर्न अधिवेशन मार्फत सरकारसँग आग्रह पनि गरे । यसअघि नै पटक–पटक धेरै विषयबस्तु उठ्ने गरे पनि कोभिड–१९ को त्रासका बीचमा पनि धेरै कुरा उठेको उनले बताए । यो बेलामा जनताको भावना र चाहनलाई बुझेर अघि बढ्नु पर्ने आवश्यकता रहेको उनले औंल्याए । सांसद आचार्यले भने, ‘कोभिड–१९ लाई दोष दिएर मुलुकमा लोकतन्त्र नै धरापमा पर्न खोजिएको छ । कोभिडलाई दोष दिएर नपन्छिऔं ।’
अरु, कुरामा सरकारको विरोध गरें पनि सांसद आचार्यले सीमा फिर्ता ल्याउने सरकारको कदम भने तारिफ गरे । सांसद आचार्यपछि सभामुखले राष्ट्रिय जनमोर्चाका कृष्ण थापालाई बोल्ने पालो दिए । रोस्टममा उभिएर थापाले पनि सीमाकै कुरा गरे । ‘सीमा फिर्ता ल्याउने सरकारको कदम स्वागतयोग्य छ’, उनले भने । कोभिड–१९ को कहरका कारण साधनस्रोतमा कमजोर रहेछौं भन्ने साबित भएको उनको भनाई थियो । महामारी फैलिँदै गएकाले यसलाई व्यवस्थित गर्न नसके कठीन अवस्था आउने भन्दै उनले सरकारको ध्यानाकर्षण समेत गराए ।
रोजगारी गुमाएकाहरुलाई जीवनयापन गर्न पनि गाह्रो परिरहेको सरकारलाई स्मरण गराउँदै सांसद थापाले आगामी वर्षको बजेटमा त्यस्ता वर्गलाई समेट्न सरकारसँग आग्रह गरे । कोभिड–१९ परीक्षणमा पनि सरकारले अलमल गरेको आरोप लगाउँदै थापाले परिक्षण बढाउन सरकारसँग आग्रह गरे ।
थापाले संसदिय समितिले गण्डकीका दुई नाका सामान्य आधार तयार पारेर खोल्न निर्देशन दिँदा पनि आलटाल गरेको भन्दै तत्काल सुचारु गर्न निर्देशन दिए । गण्डक सम्झौता नेपालीका लागि घातक रहेको बताउँदै असमान सम्झौता गाह्रो हुने बताए । जेल व्यवस्थित गर्ने लगायत विदेशमा अलपत्र नेपालीलाई देश फर्काउन समेत उनले ध्यानाकर्षण गराएका थिए । पुरानो कानून र प्रचलनले धेरै पछि परेको स्मरण गराउँदै थापाले सचेत हुनु पर्ने बताए । ‘नयाँ सन्देश दिन नसक्ने । हामी पुरानो कानुन र प्रचलनले धेरै पछि प¥यौं’, उनले भने ।
थापाले एकल महिलाको भत्ता कटौती गर्ने विषयमा सरकारले गरेकोे निर्णयको समेत कडा आलोचना गरें । ‘त्यो राम्रो हुँदैन । सरकारले महसुस गर्नुपर्ने आवश्यकता छ’, उनले भने । बरु संसद कटौती गरौं मन्त्री थप्नुपर्ने भए त्यसको लागि पहल अघि बढाउन समेत उनले सरकारलाई सुझाव दिए । यस्तै, केही समय अघि चर्चामा आएको नेकपाको आन्तरिक किचलो माथि व्यंग गर्दै थापाले मुक्तक पनि सुनाएका थिए ।
चुनावै नजित्ने प्रधानमन्त्री बनाउने कुरा छ
भएका प्रम हटाउने कुरा छ
देशलार्ई स्थायित्व चाहिएको हुँदा अस्थिर बनाउनतर्फ कोही पनि लाग्न नहुने उनको मत थियो ।
कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली कोभिड–१९ को कारण मंगल ग्रहमा बसाई सर्ने कल्पना गर्ने वैज्ञानिकलाई समेत चुनौती दिएको बताए । कोरोना संक्रमण चुनौतीपूर्ण रहे पनि सबैलाई धैर्य गर्न उनको आग्रह छ । नेपालीले संसदीय समितिले राखेका माग पूरा गर्न समेत आग्रह गरेका छन् । नत्र कडा विरोधमा उत्रिने उनको चेतावनी छ । सरकारमा नबसे पनि लकडाउनबाट पीडित जनतालाई खाद्य सामग्रीदेखि स्वास्थ्य सामग्री उपलब्ध गराएर लड्न विपक्षी दलका नेताहरु पनि तत्पर रहेको उनले स्मरण गराए । लकडाउनका कारण श्रमिकहरुको रोजगारी खोसिएर बेरोजगार भई बस्नु परेको स्मरण गराउँदै उनले तत्काल राहतका प्याकेज ल्याउन समेत सरकारलाई आग्रह गरें । ‘जति गर्नुपर्ने हो त्यो गर्न सकिएको छैन । सरकारले रोजगारी खोसिएका श्रमिकलाई तत्काल राहतका प्याकेजहरु ल्याओस्’, उनले भने ।
नेपालीले सरकारको रणनीतिक र अन्य तयारीका विषयमा पनि सबैले जान्न पाउनुपर्ने माग राखे । यस्तै, सीमामा छिमेकीले बाटो बनाउँदा समेत थाहा पाइन भनेर प्रधानमन्त्रीको गैह्र जिम्मेवार अभिव्यक्ती दिएको उनले बताए । सरकारलाई २२ बँुदे सुझाव पेश गरेको स्मरण गर्दै आगामी वर्षको नीति तथा कार्यक्रम समेट्नुपर्ने समेत उनले बताए । क्वारेन्टाइनको स्तर पनि निकै कमजोर रहेको स्मरण गराउँदै क्वारेन्टाइनमा बसे त्यसै बिरामी हुने अवस्थाका क्वारेन्टाइन रहेको हुँदा तत्काल व्यवस्थित गर्न जरुरी रहेको भन्दै उनले ध्यानाकर्षण गराए । यो बेलामा स्वास्थ्यकर्मीको मनोबल उच्च पार्नु आवश्यक रहेको औल्याउँदै नेपालीले बृहत्तर पिसिआर टेस्ट गर्नुपर्ने माग राखे । सरकारले विपक्षीलाई पनि साथै लिएर हिड्न सरकारसामु माग पनि रखेका छन्
संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले असाध्यै अप्ठ्यारो स्थितिको सामना गर्नु परिरहेको बताए । व्यवस्थित बनाउँदा खोज्दा खोज्दै पनि व्यवस्थित हुन कही कतै कमजोरी हुन सक्ने उनले प्रष्ट्याए । अधिकतम क्षमता तयार पारेर लगानी गर्दै कोभिड विरुद्ध लडिरहेको उनले बताए । माघको अन्तिम साताबाटै कोभिड–१९ को व्यवस्थापनको कस्तो तयारी थालेको उनले सुनाए । गण्डकी प्रदेश सरकारले सरकारले लकडाउन घोषणा नगर्दै, सुरुबाटै नाका सिल गर्ने योजना बनाई रहेको समेत उनले बताए । कोरोनाको कारण ठप्प रहेको अर्थतन्त्र चलायमान बनाउन विकास निर्माणका काम पनि सुरु गर्न थालेको उनले सुनाए । सांसदहरुले उठाएका प्रश्नको स्पष्टिकरण उनले दिएका थिए । सीमा विवाद र सरकारका कदमबारे समेत उनले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->