पोखरा, १३ जेठ– कार्यसमिति सदस्य अनिषा श्रेष्ठलाई ‘प्रेस युनियन अफ दी इयर अवार्ड’ नेपाल प्रेस युनियन कास्कीले २९ औं स्थापना दिवस मनाएको छ । मंगलबार कार्यक्रमका प्रमुख अतिथि कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य सुर्यबहादुर केसीले श्रेष्ठलाई अवार्ड प्रदान गरेका थिए । कार्यसमितिका सदस्यले संस्थागत हितको लागि निर्वाह गरेको भूमिकाको मूल्यांकन गर्दै श्रेष्ठलाई सम्मानित गरिएको युनियन कास्की अध्यक्ष नविन सिग्देलले जनाए । सम्मानमा नगद ५ हजार पनि रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीले सरकार जति निरकुंश बन्दै जान्छ त्यसको असर पत्रकारलाई पर्ने भएकोले यो बेलामा पत्रकार अझै क्रियाशील हुनुपर्ने बताए । उनले लकडाउन बढेमा स्थिति भयावह बन्ने भन्दै कृषि र उत्पादनशील उद्योग संचालनमा जोड पनि दिए ।
नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले लोकतन्त्रलाई जोगाउनका लागि पत्रकारले सधै खबरदारी गर्नुपर्ने बताए ।नेपाल प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेलले श्रमजीवी पत्रकारको सुरक्षाको विषयमा संगठनले सधैँ आवाज बुलन्द गर्ने बताए ।नेपाल प्रेस युनियनका पूर्वउपाध्यक्ष गंगाधर पराजुलीले पत्रकारहरुको हक हितमा सरकार अनुदार देखिएको आरोप लगाए ।नेपाल प्रेस युनियनका सल्लाहकार रविन्द्र बास्तोलाले यो अवार्डले पत्रकारितामा क्रियाशिल रहेकालाई प्रोत्साहन गर्ने बताए ।
सम्मानित व्यक्तित्व अनिषा श्रेष्ठले अवार्डले आफूलाई हौसला मिलेको बताइन् । त्यस अवसरमा नेपाल प्रेस युनियका केन्द्रीय सदस्य टंक अधिकारीले कार्यक्रमको प्रशंशा गर्दै प्रेस यनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सम्मानित अनिषा श्रेष्ठलाई प्रेस युनियनको लोगो अंकित पिन लगाएका थिए । कार्यक्रममा औषधी पसल अनलाईन फार्मेसीका प्रोपाईटर ध्रुव शर्माले मास्क हस्तान्तरण गरेका थिए । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले स्वागत र सचिव प्रदिप पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।





