म्याग्दी, १९ जेठ– नेपाली सेनाले कोरोना संक्रमितको शव व्यवस्थापन सम्बन्धी पुर्व अभ्यास गरेको छ । कोरोना महामारी फैलिएपछि मर्नेको संख्या बढ्न सक्ने र यसको सही ढंगले उचित व्यवस्थान गर्न नसकिएमा झन् महामारी फैलिने भएको हुँदा सेनाले पूर्व तयारी अभ्यास गरेको हो ।
कोरोना महामारीलाई लक्षित गर्दै शबको व्यवस्थापन सम्बन्धी सेनाको श्रीबक्स गुल्म अर्थुङ्गे, म्याग्दी र बागलुङ्ग स्थित नं. २३ बाहिनी अड्डाको संयुक्त आयोजनामा बेनीस्थित खुल्ला मञ्चमा कोरोना पुर्व तयारी गरिएको हो ।
खुल्ला मञ्चमा गरिएको अभ्यासमा शंकास्पद संक्रमितलाई भेट्दा, संक्रमित मृतकको व्यवस्थापन, एम्बुलेन्स तथा सवारी साधनलाई निसंक्रमण गर्ने र यस्तो कार्यमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीले अपनाउने व्यक्तिगत सुरक्षामा केन्द्रित रहेको थियो ।
संभावित संक्रमित र संक्रमणबाट मृत्यु भएको व्यक्तिको तथ्यांक, मुचुल्का, परिवारको सहमति, मृतकका परिवारलाई सान्तवना, दाहसंस्कार गर्नुअघि शब उठाउँदा र संस्कारका बेला अपनाउनु पर्ने सावधानी लगायतको बारेमा अभ्यास गरिएको सेनानी सुरेश देवकोटाले जानकारी दिए ।





