पोखरा, २१ जेठ -गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि सत्ता र प्रतिपक्षको जुहारी चलेको छ । विपक्षी दलका सभासदले नीति तथा कार्यक्रमको चर्को आलोचना गर्दा सत्तापक्षीय सभासदहरु सांसदमाथि खनिएका छन् ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा कांग्रेस संसदीय दलका उपनेता मेखलाल श्रेष्ठले नीति तथा कार्यक्रममाथि खरो टिप्पणी गरेपछि अधिकांश सत्तापक्षीय सभासद श्रेष्ठमाथि खनिए । ‘नीति तथा कार्यक्रम पढ्दा १२ वर्ष रामायण पढायो सीता कस्की..’ भन्ने टिप्पणीलाई लिएर सांसदहरु श्रेष्ठमाथि खनिएका छन् । सांसद श्रेष्ठको टिप्पणीमाथि कटाक्ष गर्दै सत्तापक्षका सांसदहरुले १२ वर्ष लगाएर रामायण पढ्नुकोसट्टा १२ मिनेट मात्रै राजनीतिक आग्रह, पूर्वाग्रहबाट माथि उठेर नीति तथा कार्यक्रममा घोत्लिन सुझाए । कतिले १८/२० वर्ष नै लगाएर पढें पनि सीता रामकै जोई हुन्सम्म भन्न भ्याए ।
सरकारले ल्याएको नीति तथा कार्यक्रमको पक्षमा बोल्दै सांसद धनञ्जय दवाडीले असामान्य परिस्थितिमा आएको नीति तथा कार्यक्रमलाई सामान्य परिस्थिति जस्तो ठानेर मानव सभ्यातामाथि परेको असामान्य अवस्था सामना गर्ने गरि आएको नीति तथा कार्यक्रम भनेर बुझ्नु पर्ने सुझाएका छन् । नीति तथा कार्यक्रमले निरोगी प्रदेशको बहुपक्षीय पहल गरेको उनको तर्क छ । ‘यो प्रदेशका जनताको स्वास्थ्यको पक्षमा पहल गर्दै सबैभन्दा पहिले उपचार, उपचारको पूर्वाधार निर्माणको अवधारणा अघि सारेको छ’, उनले भने, ‘लगानी गर्ने प्रतिबद्धता गरेको छ । सरुवा रोग अस्पताल निर्माण गर्ने कुरा गरेको छ । जनताको स्वास्थ्य पहिलो कुरा हो भनेर जनस्वास्थ्यमा बेसि चासो राखेर यो नीति तथा कार्यक्रम आएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।’
जनताको मत लिएको सरकार जनताप्रति प्रतिबद्ध सरकारले यिनै काम गर्नुपर्ने उनको मत छ । सांसद दवाडीले गण्डकी प्रदेश अन्य प्रदेशको तुलनामा अब्बल दूरदर्शी प्रदेश साबित भएको दावी पनि गरे । ‘हिजो सामान्य अवस्था भएकाले यी चिज पाउन सकिएको थिएन । गण्डकी प्रदेश अरु प्रदेश सरकारभन्दा अब्बल छ’, उनले भने, ‘यसले अरु प्रदेशलेभन्दा पहिले क्षतिको पूर्वअनुमान लगाएको छ । उपचार र रोकथामको लागि धेरै योजना अघि सारेको हुनाले, यो सरकार जनउत्तरदायि र जनजिम्मेवार छ ।’ विपक्षी दलका सांसदमाथि इंगित गर्दै सरकारले गरेका राम्रा कुरालाई गरेको भनेर भन्न सक्ने साहस र हिम्मत बटुल्न समेत चुनौती दिए ।
धेरै समय सरकारको बचाउमा खर्चेको सांसद दवाडीले अन्तिममा सांसद मेखलाल र प्रकाशचन्द्र दवाडीलाई कटाक्ष गर्दै देख्दा र बुझ्दा कहिलेकाहीं भ्रमहरु हुने बताए । ‘कथा पढेथे कतै, कालिदासको क लेख्दा क दुब्लाएर धरधरि रोएका थिए रे ! माननीयले पनि नीति तथा कार्यक्रम दुब्लाएको देख्दा धरधरि रोएको भन्नुभयो’, उनले भने, ‘रुनुको कुनै अर्थ छैन, १२ वर्षसम्म रामायण पनि पढ्नु भएछ, दुनियाँले १८ वर्ष पढे पनि २० वर्ष पढे पनि सीता रामकै जोई हो ।’ विपक्षी दलका सांसदहरुले पनि कम्ति कटाक्ष गरेनन् ।
सरकारले ल्याएको नीति तथा कार्यक्रम केही पनि काम नलाग्ने माकुराको जालो जस्तो आएको समेत भन्न भ्याए । ‘यो नीति तथा कार्यक्रम माकुराको जालो जस्तै आएको छ, झ्याप्प हेर्दा पुरानै, पूरै ढाकेको जस्तो’, सांसद आमेमकला गौतमले नीति तथा कार्यक्रमलाई व्यंग गर्दै भनिन्, ‘न त यसले घाम नै छेक्न सक्छ, न त पानी नै । न त यसले रोगलाई नै नियन्त्रण गर्न सक्छ । न त यसले भोको पेट नै भर्न सक्छ ।’ कांग्रेसका सभासद डोबाटे विश्वकर्माले कोरोनासँग लड्ने ठा्स योजना र कार्यक्रम नीति तथा कार्यक्रममा नआएको भन्दै सच्याउन आग्रह गरे । विपक्षी सभासद विष्णुप्रसाद सापकोटाले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारसँगै यसको प्रभावबाट जोगाउने योजना नै नआएको बताउँदै भने,‘भनौं सम्धीको चित्त दुख्ने, नभनौं छोरीको नाक बुच्चै भनेजस्तो नीति कार्यक्रम छ ।’राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम साहीले नीति कार्यक्रम सुन्दा र पढ्दा राम्रो लागेपनि कार्यान्वयन हुने सम्भावना नदेखेको बताए । सभासद ललितकला गुरुङले प्रतिपक्षलाई साथ नलिएसम्म ‘समृद्ध प्रदेश सुखी नागरिक’को संकल्प पूरा नहुने भन्दै प्रतिपक्षको सुझावलाई नीति तथा कार्यक्रममा समेट्न आग्रह गरिन् ।
अर्का सांसद दीपक कोइरालाले सरकारले मेहेनत गरेर ल्याएको प्रतिक्रिया दिए । व्यवस्था परिवर्तन गरे पनि कार्यशैलीमा भने अझैं परिवर्तन नआएको उनले बताए । ‘व्यवस्था परिवर्तन ग¥यौं, कार्यशैली किन परिवर्तन गर्न सकेनौं भन्ने मेन कुरा हो,’ उनल भने, ‘कार्यशैली परिवर्तन गरेर अघि बढ्दा प्रदेश सरकारले लिएका लक्ष पूरा हुनसक्छ ।’ शहीद र बेपत्ता पारेका परिवारको खोजी हुनु पर्ने उनले सरकारसामु माग राखेका थिए । सांसद राजीव पहारीले पनि अधिकांश समय सरकारको बचाउ गर्नमा खर्चिए । आगामी आर्थिक वर्षको लागि गण्डकी प्रदेश सरकारले स्पष्ट भिजन र भिजनलाई कार्यान्वयन गर्न एक्सनका साथ सुत्रगत रुपमा नीति तथा कार्यक्रम ल्याएको उनले बताए । सरकारको बचाउ सँगसँगै सांसद पहारीले विपक्षी दलका सांसदहरुलाई कटाक्ष पनि गर्न भ्याए । ‘यो पौराणीक ग्रन्थ रामायणमा रावणले सीतलाई हरण गरेको जस्तो पनि छैन । हनुमानले लंकामा आगो लगाए जस्तो पनि छैन’, उनले भने, ‘यो नीति तथा कार्यक्रम त जनताको जीवनस्तर कसरी उकास्न सकिन्छ ? जनतालाई कसरी खुसी र सुखी बनाउन सकिन्छ जनताले दैनिक जीवनमा अनुभूत गर्न सक्ने गरि आएको छ ।’ सभासद मनबहादुर गुरुङले प्रदेशको नीति तथा कार्यक्रम गर्व गर्न लायक भएको बताए ।सांसद रामबहादुर गुरुङले प्रदेशको नीति तथा कार्यक्रम विकासको बाटोमा लम्किदै समृद्धिको संवाहक भएको जिकिर गरे । सभासद दिलमाया रोकाले नीति तथा कार्यक्रमले आत्मनिर्भर अर्थतन्त्र बनाउने बताइन् ।

नीति तथा कार्यक्रम माकुराको जालोजस्तोः ओमकला
नेपाली कांग्रेस नेतृ तथा गण्डकी प्रदेश सांसद ओमकला गौतमले नीति तथा कार्यक्रमलाई माकुराको जालोको संज्ञा दिइन् । उनले नीति तथा कार्यक्रमले कुनै परिणाम नदिने बताइन् । उनले महिला अधिकारको पैरवी पनि गरिन्, नवलपुरलाई गण्डकीले जिल्ला नै नमानेको गुनासो सुनाइन् अनि मुख्यमन्त्री जलवायुमैत्री कृषि परियोजना तथा सांसद विकास कोष खारेजीको माग गरिन् ।
‘नीति तथा कार्यक्रम माकुराको जालो जस्तै छ, झ्याप्प हेर्दा पुरै ढाकेको, न त यसले घामनै छेक्न सक्छ , न त यसले पानीनै । न त यसले रोगलाई नै नियन्त्रण गर्न सक्छ । न त यसले भोको पेटनै भर्न सक्छ’, उनले अर्थमन्त्री किरण गुरुङको भनाईलाई व्यङ्ग्य गर्दै भनिन्,‘ हामीले पनि गाईलाई घाँस र बाघलाई मासु नै दिन भनेका हौँ । रोगीलाई उपचार, भोको पेटलाई खाना दिनै भनेको हो । न त हामीले गाईलाई मासु भनेका छौ न त बाघलाई घाँस ।’
उनले २४ पाना ४८ पेजमा रङ्गीन कभरले छोपेर ल्याएको नीति तथा कार्यक्रममा सस्तो लोकप्रियता,अभिव्यक्तिमात्रै भएको जिकिर गरिन् । ‘जनताको रोग र भोक टर्दैन । रोग टर्न उपचारनै चाहिन्छ’, उनले भनिन्,‘ भोक टर्न भरिपेट नै खानुपर्छ ।’ आइसोलेसन छैन, क्वारिण्टाइन छैन । बाहिरबाट आएकाहरुको हप्तौँ पीसीआर गरिएको छैन भन्दै उनले विदेशमा पसिना बगाउनेको सम्मान हुनुपर्ने धारणा पनि राखिन् ।
उनले मुख्यमन्त्री जलवायू नमूनामैत्री गाउँ छनोट प्रक्रिया के हो भन्ने कार्यक्रम गर्दै यसलाई औचित्यहीन कार्यक्रमको संज्ञा दिइन् । ‘कृषिमा अनुदान दिने यो भ्रष्ट कार्यक्रम हो । प्रमाण सहित पेश गर्न तयार छु’, उनले भनिन्,‘ भ्रष्ट कार्यक्रम खारेज गरियोस् । किसानलाई प्रोत्साहन गर्न सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरियोस् ।’ निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम परिमार्जित सहित निरन्तरता भनेको के हो भन्दै उनले यो परियोजना छनौटमा समानुपातिक सभासदको समान हैसियत हुनुपर्ने अन्यथा कोषमा भएको रकम जनता बचाउनमा खर्च गरियोस् भन्ने माग गरिन् । उनले महिलालाई सबलीकरण र सशक्तीकरण जोड दिँदै आयआर्जन गर्ने खालको कार्यक्रम ल्याउन सुझाइन् ।
नवलपुर जिल्लाका बासीहरुले गण्डकी प्रदेशको राजधानी पोखर हो भनेर गौरव गर्न नसकेको जिकिर गर्दै उनले नीति तथा कार्यक्रममा कान्छो जिल्ला नवलपुरको विषयमा नबोलको आरोप लगाइन् । त्रिबेणी दुम्किबास सडक विस्तार नभएको, थारु, बोटे, मुसिहारजस्ता बासिन्दाबारे नसोचिएको र नवलपुरलाई भन्सार नाकाको रुपमा मात्र प्रयोग गर्ने नीति लिएको भन्दै उनले कडा आपत्ति जनाइन् ।





