बागलुङ, २२ जेठ – गण्डकी प्रदेशमा एकै दिन १६ नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार १६ नयाँ संक्रमित थपिएसँगै गण्डकीमा कुल संक्रमित संख्या ५४ पुगेको छ । निर्देशनालय गण्डकीका अनुसार बागलुङमा १०, पर्वतमा ४, स्याङ्जामा १, म्याग्दीमा १ गरि जम्मा १६ नयाँ संक्रमित बिहीर थपिएका छन् । यी सवै भारतबाट आएर क्वारेन्टाईनमा वसेका हुन् ।
बागलुङ निसीखोला गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २२ र २९ का २ जना पुरुष र ३३ वर्षिय एक महिलामा कोरोना पुष्टि भएको छ । यस्तै, बडीगाड गाउँपालिका ठेगाना भै सोहि पालिकाको क्वारेन्टाइनमा बसेका १६, २०, २१ र २५ वर्ष उमेर समुहका ४ जना पुरुष र बागलुङकै गल्कोट नगरपालिका क्वारेन्टाइनमा बसेका २०, २२ र २३ का ३ पुरुष गरि जम्मा १० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
यस्तै, स्याङ्जाको कालीगण्डकी गाउँपालिका ठेगाना भई सोही पालिका स्थित क्वारेन्टाइनमा बसेका १८ वर्षिय १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । पर्वतको फलेबास नगरपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा बसेका २१ र २१ का २ जना पुरुष र पर्वतकै बिहादी गाउँपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा बसेका २४ र २८ वर्ष उमेरका २ जना पुरुषमा समेत गरि पर्वतमा जम्मा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
यस्तै, म्याग्दीको मंगला गाउँपालिका ठेगाना भई सोही पालिका स्थित क्वारेन्टाइनमा बसेका १९ वर्षका १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित दशैं जनालाई सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भई रहेको निर्देशनालयले जनाएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।
एकै दिन १० नयाँ संक्रमित थपिएको बागलुङ गण्डकी प्रदेशकै सबैभन्दा धेरै संक्रमित पुष्टि भएको जिल्ला बनेको छ । यो सँगै बागलुङमा १८ जनालाई कोरोना पुष्टि भएको छ । तीमध्ये २ जना उपचारपछि निको भएर घर फर्केका छन् ।




