शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

१९ घण्टा प्लाष्टिकमा बेरिए र उनी माटोमा मिसिए…

१९ घण्टा प्लाष्टिकमा बेरिए र उनी माटोमा मिसिए…

कोरोना संक्रमितको अन्तिम संस्कारको लागि बनेको कार्यविधिका केही बुँदाहरु


  • बासुदेव मिश्र
  • जेष्ठ २७ २०७७, मंगलबार

अलविदा ! कोराना संत्रमण देखिएका वालिङ–३, स्याङ्जाका ५९ वर्षीय पति/पिताको प्लाष्टिकले बेरिएको पार्थिव शरीर नियाल्दै धर्मपत्नी र छोरी । तस्वीर :सुमन ढुंगाना

पोखरा, २७ जेठ– धेरै धर्म र सम्प्रदायले आत्मालाई अजम्बरी र शरीरलाई नाशवान मान्छन् अनि आत्माले शरीर छाड्नुलाई ‘पुरानो कपडा फेरेजस्तै’ सम्झन्छन् । तर, आफन्तलाई त्यस्तो किन हुन्थ्यो र ? वर्षौँसम्म त्यही शरीरको झझल्को आउँछ । झझल्को आए पनि नश्वर शरीरलाई नष्ट गर्नैपर्छ । माटोमा मिलाउनै पर्छ । यो आफन्तको धर्म पनि हो । तर, सधैं सहज हुँदो रहेनछ ।
वालिङ नगरपालिका–३ का ५९ वर्षीय गुरुङ थरका वृद्धलाई रोगले गाँजेकै थियो । मृगौला र मधुमेहका रोगी उनी उपचारकै क्रममा केही महिनाअघि भारत गएका थिए । भारतमा उपचार गराउँदा पनि उनको रोग दुईको एक भएन । परिवारलाई थाहा थियो,‘रोगले एकदिन चुँड्छ नै ।’ रोगी शरीर लिएर उनी नेपाल फर्किए । बढो दुःखका साथ उनले जन्मेको धर्ती टेके । देशमा कोरोना कहर थियो । उनलाई क्वारिण्टिनमा बसाइयो । क्वारिण्टिन कोरोना कहरकै बीच रोगले फेरि च्याप्यो । हतारमा श्रीमती र छोरीले पोखरा ल्याए । आइतबार यहाँको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका उनको राती ११ः३० बजेतिर प्राणपखेरु उँड्यो । हंसले ठाउँ छोडेपछि अस्पतालले उनीमा कोरोना संक्रमण भएको बतायो । सँगै आएका श्रीमती र छोरीले पोखराकै अर्को क्वारिण्टाइनमा रोएरै रात बिताए ।
मृत्यु दुःखद हुन्छ तर मन खोलेर बिदाईको चाहना पनि हुन्छ, आफन्तसँग । तर, परिवारलाई त्यो अवसर मिलेन । अन्तिम बिदाईको चाहना पनि निकैपछि पूरा भयो । अघिल्लो रात ११ः३० बजे संसार छाडेका उनको उनको नश्वर शरीर करिब ६ः३० बजेतिर मात्रै माटोमा मिलाइयो । उनको शव उठाउनै समस्या भयो ।
अस्पतालमा नर्सहरुले प्लाष्टिकमा बेरिदिएको शव कसले उठाउने, कसरी र कहाँ भन्ने गलफतिमै दिन बित्यो । आइसोलेसनमा रहेका अन्य ३ जना के गरौँ र कसो गरौँको स्थितिमा थिए । उनीहरु आइसोलेसनको कोठमामा यताउता गरिरहेका थिए । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर अर्जुन आचार्यले सेना, पोखरा महानगरपालिका, आफन्त र अस्पतालको सहकार्यमा उनको बिहानै अन्तिम संस्कार गर्ने बताए पनि त्यो यथार्थमा बदलिएन । शव बाहन नपाउने, पाए चालक नहुने समस्या देखियो । प्रशासनिक निकायहरु निकम्मा देखिए ।बल्लतल्ल पोखरा–११, फूलबारी तलको सेतीमा लास गाड्ने सहमति जुट्यो । स्थानीयले बिरोध गरे । नेपाल प्रहरीले लाठीचार्ज नै गर्नुप¥यो । कोरोना संक्रमितको अन्तिम संस्कारको लागि बनाइएको कार्यविधि अनुसारका सुरक्षाका सबै उपाय अपनाउँदै गण्डकी अस्पतालको आइसोलेसनबाट उठाइएको शवको टाढैबाट श्रीमती र छोरीले अन्तिम दर्शन गरे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधिमा बनाएको छ । सो कार्यविधि अनुसार परिवारले उनलाई टाढैबाट हेर्न पाउँछन् तर छुन वा अन्तिम संस्कार गर्न पाउँदैनन् ।अस्पतालको गेटमा लेखिएको ‘धन्यवाद’ उनले देख्न पाएनन् । त्यसपछिको बाँकी काम सुरक्षाकर्मीले गरे । उनको शव माटोमा मिल्यो ।
कोरोना संक्रमितको अन्तिम संस्कारको लागि बनेको कार्यविधिका केही बुँदाहरु
कोभिड–१९ संक्रमितको शवलाई व्यवस्थापन गर्दा सर्वप्रथम स्वास्थ्यकर्मीहरुले हात सफा गरी पीपीई, पञ्जा, मास्क, चस्माको प्रयोग गर्नु पर्छ ।
– मृत्युअघि संक्रमितको उपचारका लागि प्रयोग गरिएका मेडिकल सम्पूर्ण सामग्री निकाल्नु पर्दछ ।
– उपचारका लागि मेडिकल सामग्री प्रयोग गर्दा शरीरमा भएका घाउ तथा प्वाललाई १ प्रतिशत हाइपो क्लोराइटले सफा गरी प्लाष्टर गर्नु पर्दछ ।
– शरीरबाट मेडिकल सामग्री तथा अन्य तिखो उपकरणहरु निकाल्दा विशेष ख्याल गरि आफुलाई नघोच्ने गरि निकाल्नु पर्दछ ।
– शवबाट संक्रमण फैलन नदिन शरीरका प्वाल जस्तै नाँक, कान लगायतका श्राव हुने अंगहरु पूर्ण रुपमा बन्द गर्नु पर्दछ ।
– शवलाई आइसोलेसन वा भेन्टिलेटरबाट बाहिर निकाल्नु अगाडि आफन्तले शव हेर्न चाहेमा उनीहरुलाई सावधानी पूर्व १ मिटरको दुरी कायम गर्न लगाएर देखाउनु पर्दछ ।
– शवलाई बाहिर निकाल्नु भन्दा अगाडि पुरै प्लाष्टिकले ढाकेर राख्नु पर्दछ। शवलाई पलाष्टिकले ढाक्नु आगाडि प्लाष्टिकलाई पानीमा १ प्रतिशत हाइपो क्लोराइट र ब्लीच पाउडर मिसाएर सफा गर्नु पर्दछ ।
शवलाई घाटसम्म पु¥याउँदा ध्यान दिनु पर्ने कुराहरुः
– शव बाहन चालकले आफ्नो सुरक्षाका लागि पीपीई लगाई संक्रमण हुन नदिन हाइपो क्लोराइटयुक्त प्लाष्टिकमा बन्द गरेर शवलाई सुरक्षित अवस्थामा अन्तिम संस्कार गर्ने ठाउँसम्म पुर्याउनु पर्दछ ।
– शव ह्याण्डल गर्ने व्यक्तिले टाउको ढाक्ने गरि व्यक्तिगत सुरक्षाका सामग्री पीपीई, मास्क, पञ्जा, चस्मा प्रयोग गर्नु पर्छ ।
– शवलाई अन्तिम संस्कार गर्ने ठाउँसम्म पु¥याएका बाहनलाई १ प्रतिशत हाइपोक्लोराइटले सफा गर्नु पर्दछ ।
अन्तिम संस्कार गर्दा ध्यान दिनु पर्ने कुराहरुः
– शव गाड्ने वा जलाउने स्थलमा जाने कर्मचारी वा व्यक्तिहरु उच्च जोखिम हुने भएका कारण उच्च सर्तकता अपनाउँदै हातको विशेष सरसफाई गर्नुका साथै मास्क र पञ्जाको प्रयोग गर्नु पर्दछ ।
– अन्तिम समयमा आफन्तलाई मृतकलाई हेर्न चाहेमा दुरी कायम गरी अनुहार मात्रै देखाइदिनु पर्छ ।
– धर्म संस्कृति अनुसार दाहसंस्कार गर्दा शरीरलाई नछोइ टाढैबाट पानी छिट्याउन लगाउन पर्दछ ।
– नुहाउने, अँगाल्ने लगायतका शरीरमा छोएर गरिने कुनै पनि क्रियाकलाप गर्न नदिनु हुदैन ।
– आफन्तले अस्तु तथा खरानी भने संकलन गर्न सक्ने छन ्।
– अन्तिम संस्कारको समयमा भीड गर्न दिनु हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->