बागलुङ/असोज ११ गते बिहान निसीखोलामा पहिरोले पुरिएर एकै घरका चार जनाको मृत्यु भयो । बागलुङ सदरमुकाममा घाम चर्किंदै जाँदा निसीखोलामा बाढीले घर भत्काउँदै थियो । घरसँगै धेरैकासपना पनि बगे ।अझै यहाँको क्षतिको यकिन मूल्यांकन भइनसकेको वडाध्यक्ष टीकानिधि पौडेल बताउँछन् ।
शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाइ, सडक तथा पूर्वाधार जस्ता क्षेत्रमा क्षतिको मूल्यांकन बाँकी छ । पहिलो चरणमा बाढी पीडितलाई राहत वितरणमात्रै सुरु भएको हो । पीडितहरु चार दिनसम्म विद्यालय र वडा कार्यालयमा आश्रय लिएपछि आफन्तको घरघरमा बस्न सरेका छन् ।
उनीहरुको दिगो व्यवस्थापनको लागि पहलै थालिएको छैन । सदरमुकामदेखि १ सय २० किमी पश्चिमको निसीखोला गाउँपालिकाको मुख्य बजार झिवाखोला अहिले खण्डहर भएको छ । निसीखोलामा आएको बाढीले किनारको बस्ती बगायो । बाढीले ३५ घरको नामनिसाना राखेन । बाँकी २५ घर बस्नै नमिल्ने छन् भने केही घर जोखिमका छन् ।
निसीखोलाका ३ सयभन्दा बढी मानिस बाढीको प्रत्यक्ष मारमा परेका छन् । वडा नंं ४ को कानाबगरमा असोज ९ गतेनै खसेको पहरो मिसिएपछि खोलाको बहाव झनै ठूलो र ढुंगामाटो सहितको बन्दा यो क्षति भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।
निसीखोला गाउँपालिका वडा नंं ४ कानाबगर र झिवाखोला बाढीले क्षत बिक्षत छ ।लिटिल रोज बोर्डिङको भवन झन जीर्ण बनेर उभिएको छ । यो भवनले नै यहाँको सिंगो बस्ती क्षति हुनबाट जोगिएको थियो । बाढीले झिवाखोला स्थित इलाका प्रहरी कार्यालयमा पनि क्षति पुगेको छ । क्षतिपछि सुरक्षा दिने प्रहरीसमेत सुरक्षित स्थानमा बस्न नपाएको आचार्यले बताए ।
बाढीले घर बगेका परिवारका सदस्यको पुनस्थापना चुनौती कसरी सामना गर्ने भन्ने सोच्न पनि नसकेको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती बताउँछन् । चाडपर्व आइरहेको बेला उनीहरु अलपत्र भएकाले गण्डकी प्रदेश सरकार र संघीय सरकारमा सहयोगको माग गरेको उनले बताए । जिल्ला विपत व्यवस्थापन समिति, विभिन्न राजनीतिक दल र संघीय तथा प्रदेश सभाका सांसदहरु घटनास्थल पुगेर अध्ययन र तत्काल गर्न सकिने सहयोगबारे परामर्शमा छन् ।
वडाध्यक्ष सहितका जनप्रतिनिधि र स्थानीय तहले आफन्तको घर खोजेर विस्थापितलाई सुरक्षित राख्ने काम गरिरहेको छ । सुरुका दिन जनजीवराज मावि र प्रभा माविमा राखेर पीडितलाई बस्ने, खाने व्यवस्थापन गरिएको गाउँपालिकाका पूर्वअध्यक्ष तारानाथ पौडेलले बताए ।
सदरमुकाम आउने मालढुंगा स्थित कालीगण्डकी पुलसमेत भत्केकाले अहिले पनि आवजजावत ठप्प छ । नगदमा सहयोग भएमात्र पीडितलाई दिन सकिने अवस्था छ । बोकेर लैजानेभन्दा झिवाखोला र बुर्तिवाङ बजारमा भएको सामाग्री नै खरिद गर्न उपयोगी हुने देखिएको छ ।
बाढी पीडितको दिगो व्यवस्थापनबारे समितिले संसद सदस्यहरुलाई जानकारी गराएको छ । जिल्लाबाट निर्वाचित र समानुपातिकसांसदमार्फत बस्ती विकासको योजना पार्न, अवरुद्ध मध्यपहाडी लोकमार्ग निर्माण गर्नसमेत उचित बजेट र कार्यक्रम व्यवस्थापन गर्न आग्रह गरेको आचार्यले बताए । ‘हामीले सबै बिषयगत कार्यालयका प्रमुखले ल्याएको तथ्यांक संकलन गरेर सरकारसम्म सन्देश पठाएका छौं’, आचार्यले भने, ‘दिगो व्यवस्थापनकालागि सबै संस्थाहरुको एकीकृत कार्यक्रम आवस्यक छ ।’
लोकमार्गको बागलुङ खण्डको स्थायी व्यवस्थापन गर्नमात्रै ८० करोड लाग्ने सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरिप्रसाद शर्माले जानकारी दिए । निसीमा सञ्चालित तीनवटा खानेपानी आयोजना, दुई सिंचाइ परियोजना, दुई लघुजलविद्युत आयोजना बग्दा करोडौंको क्षति भएको छ । संयोगले एउटा आयोजनाको भने पाइपलाइन मात्रै बगेको छ । इन्टेक बचेकाले वितरण गर्ने पाइप भएमा अधिकांशसेवाग्राहीलाई स्वच्छ पानी खुवाउन सकिने पौडेलले बताए ।
निसी, भलकोट, झिवाखोला, झिम्पा, कानाबगर, जुग्जाखोला लगायतका दर्जन बस्ती निसीखोला किनारमै छन् । यही खोला किनारबाट मध्यपहाडी लोकमार्गरुकुमतर्फ गएको छ । ‘यस्तो विपत्ति आउला भन्ने सोचेका पनि थिएनौं, बाढीले घरखेत र सबै सम्पत्ति एकैछिनमा सकियो’, घरबार गुमाएकी स्थानीय दिलकुमारी रेग्मीले भनिन्, ‘न बस्ने घर छ, न टेक्ने जमिन, हामी त सुकुम्बासी नै बनियो ।’
असोज ९ गते कानाबगरमा पहिरो खसेर लोकमार्ग अवरुद्धभएपछि स्थानीय सचेत बनेर राति घर छाडेका थिए ।





