बागलुङ, २७ जेठ– पखाला र ज्वरोले च्यापेका बागलुङ नगरपालिका–१३ का २३ बर्षिय युवा क्वारेन्टाईनबाट धौलागिरी अस्पतालको आईसोलेसनमा ल्याएको तीन दिनमा निको हुँदैछन् । गलकोट नगरपालिकाका अर्का एक युवामा उच्च ज्वरोसहित सुख्खा खोकी थियो । भारतबाट आएर क्वारेन्टाइनमा बसेका उनलाई पनि अस्पतालको आईसोलेसन भर्ना गरिएको छ । तीन दिन यता उनको पनि स्वास्थ्यमा उल्लेख्य सुधार आएको अस्पतालका प्रमुख डा. शैलेन्द्र वि. पोखरेल बताउँछन् । उनीहरु दुवै जनामा कोरोना भाईरस (कोभिड–१९) को लक्षण देखिएको छ । शंकास्पद बिरामी भनेर सुरक्षा कवच लगाएका स्वास्थयकर्मी मात्रै उनीहरुको नजिक पुगेर उपचार गर्छन् तर उनीहरुमा कोरोना रहे नरहेको भने पुष्टि भएको छैन ।
तीन दिन पहिला पठाईएको गलकोटाका युवाको थ्रोट स्वावको नतिजा आएको छैनभने क्वारेन्टाईनमै रहँदै चार दिन पहिला थ्रोट स्वाव लिएर पठाईएका बागलुङ नगरपालिकाका युवाको पनि नतिजा आएको छैन ।
अस्पतालमै अरु १७ जना कोरोना संक्रमण पुष्टि भएकाको आईसोलेसनमा राखेर उपचार भैरहेको छ । नियमित मुटुको चाल, रक्तचाप, ज्वरो जाँच्नेबाहेक उनीहरुलाई कुनै औषधि चलाउन नपरेको पोखरेल बताउँछन् । ‘सिमटम रहेका बिरामीको सुधार छ तर नतिजा आएको छैन्’ पोखरेलले भने ‘संक्रमित सबै एकदम ठिक हुनुहुन्छ ।’ शंकास्पद बिरामीको कोरोना जाँचका लागि पठाएका स्वावको नतिजा आउन समय लाग्दा समस्या भैरहेको उनले बताए । अस्पताल मात्रै होईन अस्पतालकै चिकित्सकको निगरानीमा रहेको धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आईसोलेसनका संक्रमितमा पनि कुनै समस्या छैन भन्छन् पोखरेल ।
गत जेठ १४ गते अस्पतालको आईसोलेसन भर्ना भएका ६ जनाको आउँदो बुधबार १४ दिन पुग्दै छ । यो बिचमा गरिएको जाँचका क्रममा उनीहरुमध्ये चार जनाको कोरोना परीक्षण दोस्रो रिपोर्ट नेगेटिभ आएको छ । बडिगाड गाउँपालिकाका दुई र तमानखोला गाउँपालिकाका दुई पुरुषको दोस्रो पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको डा. शैलेन्द्र वि. पोखरेलले जानकारी दिए । उनीहरुसंगै उपचाररत २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
नेपाल सरकारले जारी गरेको नयाँ निर्देशिकाअनुसार अब बिरामी निको भएर घर फर्किन दुई पटक नेगेटिभ रिपोट आउनु पर्दैन । ‘पहिले यस्तो व्यवस्था थियो तर अहिलेको निर्देशिका परिवर्तित छ, अनुभवले पनि संक्रमितलाई अस्पताल राखि राख्नुपर्ने देखिँदैन’ पोखरेलले भने ‘कुनै लक्षण नभएका संक्रमितलाई १४ दिनपछि डिसचार्ज गर्छौं ।’ उनकाअनुसार आउँदो बुधबार गत जेठमा अस्पताल भर्ना भएका ६ जनानै घर फर्किने छन् । तर, उनीहरु घरमा पनि होम क्वारेन्टाईन भने कडाईका साथ पालना गर्नुपर्ने व्यवस्था निर्देशिकामा छ ।
गत जेठ २२ गते संक्रमण पुष्टि भएका दशजना, २३ गते संक्रमण पुष्टि भएका १ जना र २५ गते संक्रमण पुष्टि भएकाहरुले पनि १४ दिन कटाएपछि घर जान पाउने छन् । जिल्लाभर प्रि–आईसोलेसनमा रहेकाले कुनै लक्षण देखिएमा अस्पतालको सुबिधा पाउने छन्भने अवस्था स्थिर रहेका प्रि–आईसोलेसनबाटै घर फर्किने छन् । ‘समय समयमा जाँच हुन्छ तर नेगेटिभ वा पोजेटिभ जे देखिए पनि स्वास्थ्य नबिग्रिए केही फरक पर्दैन’ उनले भने ‘अहिलेसम्मका संक्रमितको अवस्था र अनुभवले १४ दिनमा होम क्वारेन्टाइन जाँदा फरक पर्दैन ।’ बागलुङका ४० जना कोरोना संक्रमितमध्ये धौलागिरी अस्पतालको आइसोलेसनमा १७ जना रहेका छन्भने धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा ९ जना छन् । क्याम्पको प्रि आईसोलेसनमा मंगलवार संक्रमण पुष्टि भएका बरेङका ८ जनालाई ल्याईंदै छ । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको प्रि–आइसोलेसनामा १ जना छन् । मंगलवारनै संक्रमण पुष् िभएका निसीखोलाका ३ जनालाई पनि बुर्तिबाङ ल्याईएको छ । आज संक्रमण पुष्टि भएकामा पनि कुनैपनि लक्षण छैनन् । यसअघि दुई जना महिला उपचारपछि निको भएर घर फर्किसकेका छन् ।





