पोखरा, २९ जेठ – गण्डकी प्रदेशको गोरखाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भीमसेन थापा गाउँपालिकाका तीन पुरुष र एक महिलामा संक्रमण देखिएको हो । उनीहरुको स्वाब संघी राजधानी काठमाडौंको राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिएको थियो । गण्डकी स्वास्थ्य निर्देशनालयले विहीबार साँझ जनाए अनुसार योसँगै गण्डकीमा संक्रमितको संख्या १५१ पुगेको छ । त्यसमा उपचारपछि घर फर्केका ११ जना पनि सम्मिलित छन् । गण्डकीमा कोरोनाकै कारण एकजनाको ज्यान गएको छ । देशभर भने यो समाचार तयार पार्दासम्म ४ हजार ६१४ जना संक्रमित भएका छन् भने १५ जनाको मृत्यु भएको छ । यता, गण्डकीमा हालसम्म ४ हजार ९६९ को पीसीआर परीक्षण भएको र १६६३ को नतिजा आउन बाँकी भएको जनाइएको छ । पोखरामा पीसीआर मेसिन र किट अभावले ठूलो संख्यामा स्वाब थन्किएको हो ।




