बागलुङ, ३० जेठ – बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङको वडा कार्यालय भवनको शुक्रबार शिलान्याश गरिएको छ । भवनको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले शिलान्याश गरेका हुन् ।
भवनको शिलन्याशपछि बोल्दै नगरप्रमुख पौडेलले पूर्वाधार निर्माणमा जनताको चासो र सहभागिता बढ्दै गएकाले त्यसलाई साकार पार्न नगरपालिका लागिपरेको बताए । नगरमा पूर्वाधार विकासका लागि संघीय सरकार, प्रदेश सरकारसँग सहकार्य गरिरहेको बताउँदै पौडेलले जनताको मागका आधारमा योजना बनाएर नगरपालिका अघि बढिरहेको बताए ।
आठ कोठे पक्की भवन निर्माणका लागि बागलुङ नगरपालिकाले १९ लाख रुपैयाँ बजेट विनियोजन गरेको र यसलाई सम्पन्न गर्न आवश्यक रकम उपलब्ध गराउनेसमेत नगरप्रमुख पौडेलले प्रतिबद्धता जनाएका छन् । वडा कार्यालयको भवन बनाउनका लागि स्थानीय टिकाकुमारी खत्री, धनबहादुर शाही, भद्रकली खत्री र कोपिला सार्कीले निःशुल्क जग्गा उपलब्ध गराएका थिए ।
भवन निर्माणको लागि स्थानीय जनताको चार लाख ६५ हजार रुपैयाँ बराबरको श्रमदान रहने छ । भवन सम्पन्न गर्नका लागि आगामी आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरिने वडा अध्यक्ष गणेश थापा मगरले बताए । वडा कार्यालयले हाल भाडाको घरबाट कार्यसम्पादन गर्दै आएको छ ।





