बागलुङ, २ असार– कोरोना संकटमा भ्रष्टाचार मौलाएको आरोप लगाउँदै नेपाली कांग्रेस बागलुङले जिल्ला प्रशासन कार्यालय बागलुङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि भैरहेका सबैखाले गतिबिधिमा भ्रष्टाचार भएको भन्दै कांग्रेसले त्यसको छानविन हुनुपर्ने माग गरेको हो ।
जिल्ला सभापति दिपेन्द्र थापाको नेतृत्वमा प्रशासन कार्यालयमा पुगेको टोलीले बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा मुलुक कोरोना संक्रमणले ग्रसित भएको बेला स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको अन्त्य हुनुपर्ने उल्लेख छ ।
ज्ञापन पत्रमा पीसीआर जाँचको दायरा बढाउनुपर्ने, ब्यवस्थित क्वारेन्टीन निर्माण, व्यवस्थित अस्पताल र बिदेशबाट आउने नागरिकको उद्धारका लागि जुट्नुपर्ने लगायतका माग समेटिएको छ । काँग्रेस सभापति दिपेन्द्र बहादुर थापाद्वारा हस्ताक्षेरित ज्ञापन पत्रमा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको तत्काल छानबिनको माग गरिएको छ ।
लकडाउनका कारण बिद्यार्थी, मजदुर तथा सबै क्षेत्रमा परेको प्रभावको मुल्यांकन र त्यसको विकल्पको खोजीमा लाग्न सरकार असफल भएको दाबी गरिएको छ । ज्ञापनपत्रमा रोजगारी सिर्जना हुने, कृषि तथा असहायको पक्षमा हुने खालका कुनैपनि कार्यक्रम सरकारले ल्याउन नसकेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
संघ, प्रदेश र स्थानीय तहमा लार्पवाही र भ्रष्टाचार मौलाएको भन्दै कांग्रेसले सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएको छ । कृषि रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्यमा केन्द्रित कार्यक्रम ल्याउन कांग्रेसले माग गरेको छ ।





