बागलुङ, १२ असार–गण्डकी प्रदेशका विभिन्न चार जिल्लामा शुक्रबार बागलुङका एक जनासहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७ सय ९२ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. बिनोदबिन्दु शर्माले शुक्रबार बिहान विज्ञप्ती जारी गर्दै बागलुङ, तनहुँ, स्याङ्जा र नवलपरासीमा २५ जनामा संक्रमित थपिएको पुष्टि गरेका छन् ।
प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङको बरेङ गाउँपालिकाका एक जना पुरुष, तनहुँको व्यास नगरपालिकाका दुई जना, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणबाट नवलपरासीको गैँडाकोट नगरपालिकाका सात जना पुरुष तथा कावासोती नगरपालिकाका १२ जना पुरुष तथा दुई जना महिलामा पनि कोरोना संक्रमण देखिएको हो ।
सम्बन्धित जिल्लाका क्वारेनटाइनमा रहेका उनीहरूलाई आइसोलेसनमा सार्ने तयारी भइरहेको पनि निर्देशनालयले जनाएको छ ।





