
बागलुङ, १३ असार– बिहिबार इलाका प्रहरी कार्यालयको गस्ती टोली बुर्तिबाङ बजार निस्कियो । बजार छेउको एकान्तमा बसेर गाँजा सेवन गर्दै गरेका केही युवा एक्कासी भागाभाग गरे । प्रहरीले घेरा हालेर उनीहरुलाई समात्यो । सामान्य केरकारपछि पोल खुल्यो– बुर्तिबाङ बजारमा सामान्य चियापसलबाट पनि गाँजाको व्यापार हुन्छ ।
समातिएका युवाहरुले बुर्तिबाङ बजारमा रहेको मिना चिया तथा खाजा घरको नाम लिए । प्रयोगकर्तालाई कारवाहीको कुनै व्यवस्था नभएकाले प्रहरीलाई लागूऔषधको कारोवारीलाई समात्नु थियो । मिना चिया तथा खाजा पसलमा पुगेको प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको टोलीले त्यहाँबाट नगन्य गाँजा मात्रै बरामद ग¥यो । चिया, खाजा पाक्ने पसलमा गाँजा त आउँथ्यो तर पसल माध्याम मात्रै थियो । मिना चिया खाजा पसलका सञ्चालकले पनि प्रयोगकर्ता र व्यापारीले यताउता गराईदिन भनेकाले सोहीअनुसार गरेको बताए ।
तिनै सञ्चालकले निसीतिरबाट गाँजा आउने गरेको बताएपछि प्रहरीको अुसन्धानको सुई निसीतर्फ मोडियो । बिहिबार रातीनै निसीखोला गाउँपालिका प्रबेश गरेको ईलाका प्रहरी कार्यालयको टोलीलाई गोप्य सूचना प्राप्त भयो । वडा नं. ६ का अध्यक्ष सूर्यबहादुर घर्तीको घरमा प्रसस्तै गाँजा छ । रातीनै उनको घर जान हिँडेको प्रहरी शुक्रबार बिहान ४ बजे मात्रै वडाअध्यक्ष घर्तीको घर पुगेको प्रहरी निरीक्षक भण्डारीले बताए । बिहान ४ बजे उनको घर खानतलासी गर्दा बोराका बोरा गाँजा भेटियो । प्रहरीले सबै बोरा र वडाध्यक्ष घर्तीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बुर्तिबाङको हिरासतमा राखेको छ ।
उनको घरबाट बरामद भएको गाँजा ८६ किलो रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए । ‘गाँजाजस्तो धुलो प्राप्त भएको छ, के हो भन्ने कुरा ल्याबले बताउँला’ रेग्मीले भने ‘उनी एक्लै पक्राउ परेका छन् ।’ घर्तीलाई थप अनुसन्धानका लागि सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याउने तरारी भैरहेको छ । निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले भने आँफुले हल्ला सुनेको तर सबै जानकारी नआएको प्रतिक्रिया दिए । घर्तीले मल बनाएर खेलमा हाल्न तयार पारेको बोरा बरामद भएको प्रतिक्रिया दिएको उनले बताए ।





