सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पहिरोको त्रासदीमा बित्छ नन्दबहादुर नेपाली परिवारको रात

पहिरोको त्रासदीमा बित्छ नन्दबहादुर नेपाली परिवारको रात


  • ढोरपाटन संवाददाता
  • असार १३ २०७७, शनिबार

बागलुङ, १३ असार– राष्टिय गौरवको आयोजना कालीगण्डकी करिडोरको टाकुरी पालुङखोला खण्ड स्तरोन्नतीको काम भैरहेको छ । ट्रयाक खोलिएको करिडोरको तलमाथि काटेर बनाईएको दश मिटरको सडकले यात्रु र सवारीलाई त सहज बनाएको छ तर आसपासका सर्वसाधारणले भने सास्ती पनि खेप्दै आएका छन् ।
करिडोरको यहिँ खण्डको सडक छेउमा पर्छ बागलुङ नगरपालिका १२ टाकुरीका नन्दबहादुर नेपालीको घर । बर्खा लागेसँगै नन्दबहादुरको परिवारले घरबासनै छोड्नु परेको छ । करिडोेरमा पड्किने बमका कारण नन्दबहादुरको घर हिउँदमै थर्किन्थ्यो । जगबाट हल्लेको घरलाई अहिले पहिरोले ताकेको छ ।
करिडोर फराकिलो बनाउँदा उनको घरछेउमा काटिएको जमिनलाई कुनै आड दिईएको छैन् । सामान्य पानी पर्दासमेत घरछेउको माटो बगेर घरै लैजालाजस्तो गरेपछि त्रिपालको छाप्रो बनाएर बस्न थालेको नन्दबहादुरले बताए ।
नेपाली सेनाको निर्माण कार्यदलले स्तरोन्नतीको काम गरिरहेको यो सडकखण्डमा कयौं घरहरु जोखिममा छन् । नन्दबहादुरको घर सडकमै झर्ने अवस्थामा पुगेको छ । दिनभर घरमै रहेका परिवार रात परेपछि त्रिपालमुनी पुर्याउनुपर्ने बाध्यता रहेको उनले गुनासो सुनाए । सामान्य आर्थिक अवस्था रहेको परिवारले तत्काल अर्कोघर बनाउने अवस्था छैन् ।
निर्माण कार्यदललाई पटक–पटक घरको सुरक्षाका लागि तारजाली वा मेसिनरी वाल राखिदिन प्रस्ताव गरेपनि आफ्नो काम ट्रयाक बनाउने मात्रै भएको भन्दै उम्किने गरेको छ । एक बर्ष पहिला बानपाकै नयाँ पुलमा घरहरु करिडोरकै कारण जोखिममा पर्दासमेत कार्यदलले सोही जवाफ दिएको थियो । कालीगण्डकी कोरीडोर निर्माण कार्यदल प्रमुख रेश्मीराज भट्टराईले आँफुहरुले पाएको स्टमेट अनुसारको मात्रै कामगर्ने बताएका थिए । जोखिममा परेको परिवारले स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराएको छ ।
कतिबेला पहिरो गएर परिवार नै अठाउने हो भन्ने डरले राती बारीको काल्नामा त्रिपाल टाँगेर रात काट्ने गरेको नेपालीले बताए । मोटरबाटोबाट करिब २ सय मिटरभन्दा माथी रहेको घर पहिरोसंगै कतिबेला भत्किने हो भन्ने डरत्रासमा दिनरात बिताउने गरेको उनले बताए । पहिरोले घर बगाउन लागेपछि उनको परिवार बिचल्लीमा परेको छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण तत्काल अन्य ठाउँमा घर बनाउन नसकेको नेपालीले दुखेसो पोखे । आफ्नो परिवारको ज्यान जोगाइदिन उनले सम्बन्धित निकायसँग अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->