सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कार्यकर्ता रिझाउन बनाएको सडकले खानेपानी उडायो

कार्यकर्ता रिझाउन बनाएको सडकले खानेपानी उडायो


  • ढोरपाटन संवाददाता
  • असार १४ २०७७, आइतबार

बागलुङ, १४ असार– सडक बनाउँदा फालेको माटोसँगै आएको बाढीले मुहान बगाउँदा कुश्मीसेराका गाउँमा खानेपानीको अभाव भएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरमा निर्माण भएको अमलाचौर–गिठे देउराली सडक निर्माणका क्रममा फालिएको माटोले बाँसेखोलामा रहेका चार वटा पानीका मुहान बगाएको छ ।
खानेपानी आयोजनाका मुहाननै बगेपछि जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेराका शिरवारी, टार, पोखरीलगायत प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा समेत खानेपानीको अभाव भएको केन्द्र व्यवस्थापन समितिका उपाध्यक्ष टेकनारायण आचार्यले जानकारी दिए ।
मुहान र पानीका लागि बनाईएका संरचना बगाएकाले तत्काल मर्मत गर्नसक्ने सम्भावना समेत नरहेको आचार्यले बताए ।
पानीको अभाव भएपछि गाउँलेहरुले खोला तथा लामो बाटो हिँडेर कुवाको पानी प्रयोग गर्दै आएका छन् ।
सबैभन्दा धेरै समस्या स्वास्थ्य केन्द्रमा भएको छ । बाँसेखोलामा फालिएको माटोको लेदोसँगै आएको बाढीले खोला समेत गहिरो गरी खोलेको छ । आयोजनाको लागतभन्दा मर्मतमा बढप् खर्च आउने देखिएको स्थानीय उपभोक्ता हरी प्रसाद शर्माले बताए ।
चारवटा मुहानमार्फत कुश्मीशेराका टार, सिरवारी, पोखरी, अर्खलापाट लगायतका गाउँका लागि बनाईएका चारवटा योजनाबाट १ सय ५० घरधुरीले पानीको उपभोग गर्दै आएका थिए ।
पूर्वाधार कार्यालय कुश्मा पर्वतको ७० लाखको लागतमा अमलाचौरमा सडक निर्माण भएको हो । कानुनतः कुनै अर्को योजनाको काम गर्दा पहिले बनेका योजना बिग्रिएमा बनाईदिनुपर्ने व्यवस्था छ । तर, यो सडक निर्माणका क्रममा भत्केका खानेपानी, सडक र पदमार्ग पुनःनिर्माणमा भने कार्यालय र उपभोक्ता समितिले बेवास्ता गरेको स्थानीयको गुनासो छ ।


झण्डै ५० मिटर माथी रहेको सडक घुमाउरो भएको बहानामा यहाँका स्थानीय जनप्रतिनिधिले अर्को सडक बनाउन दबाव सिर्जना गरेका थिए । सडकका कारण जैमिनी र बागलुङ नगरपालिकाको सिमानामा रहेको सामुदायीक बनक्षेत्र प्रभावित भएको छ भने भिरालो जमिनमा निर्माण भएको सडकका कारण जैमिनी–१ कुश्मीशेराको टार, अर्खलापाटा बस्ती पहिरोको जोखिममा छ ।
भत्केका सडक र थुप्रिएको माटो व्यवस्थापनमा वडाका जनप्रतिनिधि र सडकका लागि पहल गरेका राजनीतिक दलका नेतालाई समेत हारगुहार गर्दा जैमिनीमा पुगेको माटो जैमिनीले नै व्यवस्थापन गर्नुपर्ने जवाफ दिने गरेको स्थानीय कमला शर्माले बताईन् । नेकपाका नेता र बागलुङ नगरपालिका १२ अमलाचौरका जनप्रतिनिधिले कार्यकर्ता रिजाउनकै लागि बनाएको सडकका कारण जैमिनीका सर्वसाधारणले दुख पाएको उनको गुनासो छ ।
सडकको औचित्यभन्दा क्षति बढी हुँदा समेत नेताहरुले ध्यान दिन नसकेको स्थानीयको गुनासो छ । जैमिनी नगरपालिकाले समेत आफ्ना जनताको घरबास र खानेपानी जोखिममा पर्दासमेत बेवास्ता गरेको उनीहरुले गुनासो गरे ।
सम्भावित क्षतिको बिषयमा पूर्वाधार कार्यालय पर्वतलाई जानकारी गराईएको भएपनि नेताहरुको प्रभावमा परेर कार्यालयले लगत स्टमेट निकालेको थियो । तर, कार्यालयले गरेको स्टमेटमा सम्भावित क्षति र त्यसको व्यवस्थापनको बिषयमा उल्लेख नै छैन् ।
जैमिनीमा १२ बर्षदेखि सञ्चालनमा रहेको बृहत खानेपानी आयोजना सम्पन्न नभएको र अन्य पानीका स्रोत नभएकाले सर्वसाधारण मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->