पोखरा, १६ असार– गण्डकी प्रदेश सरकारले पाँच वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा ग¥यो । जग्गा बढ्ने कुरै थिएन । सरकारले भएको जमिनको उपयोग गर्दै उत्पादकत्व बढाउने नीति लियो । उत्पादकत्व बढाउन कृषिको आधुनिकीकरण, सिंचाई तथा चक्लाबन्दीजस्ता योजना अघि सरे । सानोसानो खण्डमा बाँडिएका जग्गालाई ठूलो बनाउने र त्यसमा प्रविधिको उपयोग गर्दै लागत कम गर्ने यही नीतिअन्तर्गत चक्लाबन्दी कार्यक्रमलाई अनुदानको व्यवस्था गरियो ।
सरकारको घोषित कार्यक्रम अनुसार चक्लाबन्दी गर्न स्याङ्जाको पुतलीबजार नगरपालिका–४ का किसानहरु तयार भए । उनीहरुले वडाको गोडिङमा रहेका आफ्नो जग्गाको लालपूर्जा बुझाए ।
‘हामीले आफ्नो लालपूर्जा बुझाएका छौं, बाँकी काम त देखिहाल्नुभयो’, स्थानीय छविलाल पोखरेलले भने,‘अब धान रोपेपछि आफ्नो भागमा जति पर्छ, त्यति लिने हो ।’ उनले आफ्नो र भाईको गरि ६ रोपनी जग्गा चक्लाबन्दीको लागि गोठिङ कृषि समूहलाई बुझाएका हुन् । छविलाल मात्रै हैनन, फाँटमा जग्गा हुने १२४ जना किसानले आफ्नो ३१० रोपनीको लालपूर्जा बुझाएपछि त्यहाँ चक्लाबन्दी सुरु भएको हो । चक्लाबन्दीलाई प्रोत्साहन गर्ने नीति लिएको प्रदेश सरकारले सो कार्यक्रमको लागि ३० लाख रुपैयाँ अनुदान दिएको छ । तर, चक्लाबन्दी गर्दा त्योभन्दा बढी खर्च भयो ।‘अहिले हामीलाई पुतलीबजार नगरपालिकाले ३६ लाख रुपैयाँ दिएको छ, धान पकेट क्षेत्र बनाउन कृषि ज्ञान केन्द्रले पनि अनुदान आएको छ’, पुतलीबजार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष ओम खड्काले भने,‘मलाई रुन मन लाग्छ, आमाहरुले पटुकामा बाँधेको पैसा फुकाएर दिएकाले चक्लाबन्दी भएको हो ।’ उनले फाँटलाई कृषि पर्यटनको क्षेत्र बनाउने र उत्पादकत्व बढाउने आफूहरुको लक्ष्य भएको बताए ।
‘हामीले यो जग्गा सरकारलाई दिएका छौं’, उनले भने,‘अब यहाँ विज्ञहरुले के गर्नुपर्छ गर्नुहोस् ।’ अहिले त्यहाँ रहेका साना गह्राहरु सम्याएर ठूला पारिएका छन् । अब ती ठूला गह्रामा काठ वा फलामे हलोले हैन, ट्रयाक्टरले जोत्छ । यो वर्ष धान काट्ने मेसिन ल्याउने र अर्को वर्ष रोप्ने मेसिन थप्ने किसान समूहको योजना छ ।
चक्लाबन्दी कार्यक्रमको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । उनले मुख्यमन्त्री गुरुङले कृषिको क्रान्ति बिना देशको विकास असम्भव रहेको बताउदै गण्डकी प्रदेश कृषि क्षेत्रको प्रवर्धन र विकासमा लागेको बताए । मुख्यमन्त्री गुरुङले भने, ‘जबसम्म कृषिको क्षेत्रमा क्रान्ति हुदैन तब सम्म देशको विकास सम्भव नभएकोले गण्डकी प्रदेश सरकार कृषिको आधुनिकिकरण गर्ने अभियानमा लागेको छ ।’ उनले पुरानो कृषि प्रणाली अनुसार काम गर्दा जति पाखुरा बजारे पनि, जति पसिना चुहाए पनि खान नपुग्ने भएकाले कृषिमा आधुनिकीकरण जरुरी भएको बताए ।
गण्डकी प्रदेश सरकार कृषिमा किसानको लागत कम र परिणाममुखी उत्पादनमा जोड दिने उद्देश्यका साथ जमीनको चकलाबन्दी योजना अघि सारेको बताउँदै उनले कृषिमा आधुनीकिकरण तथा यान्त्रीकीकरणका लागि जमीन चक्लाबन्दी सुरु गरिएको जिकिर गरे । ‘घाटाको कृषिलाई नाफाको बनाउन चक्लाबन्दी भूमिसुधार लागु गरिएको हो’, उनले भने,‘कम्तिमा चक्लाबन्दी गरिएको ठाउँमा उत्पादकत्व एकसय प्रतिशतले बढेको सुनाउनुहोस्, प्रदेश सरकारले नीतिगत रुपमै किसानलाई स्यावासी दिन्छ ।’
कार्यक्रममा बोल्दै गण्डकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्यूतराज ढकालले चक्लाबन्दीसँगै कृषिमा यान्त्रिकरण सुरु भएको बताए । मन्त्रालयले धान खेतमा सिंचाईको व्यवस्था गरिने उनले जानकारी दिए । सिंचाई, मल, उन्नत बीउ र प्रविधिको प्रयोग गर्दै धान खेतीलाई व्यावसायिकरण गरिने पनि उनले जनाए । उनले राष्ट्रको कुल ग्राहस्थ उत्पादनमा २१ प्रतिशत योगदान दिने धान बढी फलाउन सके अर्थतन्त्र पनि उँभो लाग्ने तर्क गरे ।
कृषि विकास कार्यालय स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले धान नेपालको रैथाने बाली भएको बताउँदै अब सिंचाईको व्यवस्था गर्दै चैते धान रोप्नेतिर पनि ध्यान दिइने बताए ।
पुतलीबजार नगपालिका प्रमुख सीमाकुमारी क्षेत्रीले नगरलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनुका साथै कृषिका माध्यमबाट रोजगारी सिर्जना गर्ने उद्देश्यले सामूहिक रुपमा खेती गर्ने कृषकलाई आधुनिक उपकरणका साथै प्राविधिक सहयोग र अनुदानको समेत ब्यवस्था गरेको बताइन । नगरप्रमुख क्षेत्रीले भनिन, ‘टुक्राटाक्री जमिनमा खेती गरेर समृद्धि नआउने भएकोले पहिलो नगरसभाबाटै पुतलीबजार नगरपालिकाले सामूहिक खेतीलाई गौरवको योजनाअन्तर्गत राखेर किसानलाई कृषि पेशामा लाग्न प्रोतसाहान गरेका छौं ।’गोठिङ कृषक समुहका सचिव एवं कृषक बाबुराम पोख्रेलले समूहमा काम गर्दा उत्पादन धेरै गर्न सकिने भएकाले आफुहरु चक्लाबन्दी खेतीमा लागेको बताए । वर्खामा धान रोपे पनि हिउँदा तरकारी लगायतका नगदे बालि लगाउने योजनामा आफुहरु रहेको कृषक पोख्रेलको भनाइ छ । चक्लाबन्दी यही वर्ष गरिएकाले त्यहाँको माटो मलिलो भने छैन । राम्रो उत्पादन लिन केही समय लाग्ने उनको भनाई छ ।




