
बागलुङ, १६ असार– बागलुङको निसीखोला गाउँपालिका–१ हुल्दीमा बेबारिसे अवस्थामा फेला परेका शिशुका बाबुआमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत असार १३ गते जीवितै उद्दार गरिएका शिशुका बाबुआमालाई इलाका प्रहरी कार्यालय बुर्तिबाङको प्रहरी टोलीले निसीखोलाकै हुल्दीबाट सोमबार नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीका अनुसार, हुल्दी स्थाई घर भएका १९ बर्षिया दिपेन्द्र बिक र सोही ठाउँकी १७ बर्षिया युवतीलाई नियन्त्रणमा लिईएको हो । उनीहरुले अवैध सम्बन्ध राखेर शिशु जन्मिएपछि गाउँछेउको जंगलमा फालेको खुलेकाले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
प्रहरीले अभियुक्तहरुसंग घटनाबारे सोधपुछ गरिरहेको बताएको छ । नवजात शिशुको अहिले बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको प्रहरीले जनाएको छ । शिशुको अवस्था सामान्य रहेको स्वास्थ्य केन्द्र श्रोतले जनाएको छ ।





