बागलुङ, १७ असार– एकसातादेखि बजार क्षेत्रमा खानेपानी नआएपछि सामाजिक संजालमा आलोचना भैरहेको थियो । मंगलवार भने सामाजिक क्षेत्रका अगुवाहरुले नगर खानेपानी तथा उपभोक्ता संस्थामै गएर खानेपानीको समस्या बारे जानकारी गराउने निधो गरे ।
झण्डै ३ बजे संस्थाको कार्यालयमा पुगेका उपभोक्ता र सामाजिक क्षेत्रका अगुवाहरुले संस्थाले पानी खुवाउन नसकेको कारण बारे सोधखोज गरे । समस्या भएपनि आम उपभोक्तालाई जानकारी दिन किन नसकेको भन्ने जिज्ञाशा पनि राखे । लामो समय देखि नगर खानेपानी उपभोक्ता संस्थाले साधारणसभा गर्न नसकेको, लेखा परीक्षण नभएको, साधारणसभाले दिएको म्याण्डेड अनुसार काम नभएको लगायतका बिषयमा जिज्ञाशा राखेका उपभोक्ताहरुबीच संस्थाका पदाधिकारीको जोरकातोड चल्यो । दोहोरो चर्काचर्की भएपछि डेलिगेसनमा गएका र समितिका पदाधिकारीबीच बिना निष्कर्ष छलफल टुंगियो । बरु दोहोरो भनाभन गर्दै आफ्नो बाटो लागे ।
पारदर्शीता कायम गर्नुपर्ने, कर्मचारीले समितिलाई चलाउने भन्दा समितिले कर्मचारी नियन्त्रणमा राख्नुपर्ने तथा आम उपभोक्ताको सहकार्यमा काम गर्न सुझाव दिने क्रममा दोहोरो भनाभन सुरु भएको थियाो । त्यस्तैमा एक्कासी संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठ र प्रबन्धक हिमालप्रसाद शर्मा तथा डेलिगेसन गएकाहरुको तर्पmबाट अधिवक्ता राम शर्मा, अशोक गोबिन्द राजभण्डारी र रुद्रबहादुर महतबीच बढी चर्काचर्की सुरु भएको हो । खानेपानी किन ढीला भएको भन्ने डेलिगेसनमा एकाएक गत बर्ष साधारणसभा हुन नसकेको, घरघरमा पुगेर हस्ताक्षर गरिएको, लेखा समिति गठन नभएको जस्ता बिषयले प्रवेश पाएको हो । अध्यक्ष श्रेष्ठले कुर्सीमै बसेर अस्लिल शब्द समेत बोलेको भन्दै आलोचना समेत भयो । तर श्रेष्ठले भने कठिन परिस्थितिमा काम गरिएको, सेना र प्रहरीको साथ लिएर काम गर्दा सामान्य रुपमा पानी संचालन गर्न सकेको, तर प्रकृतिसँग केही नलागेको बताउँदा चर्काचर्की सुरु भएको बताए ।

साधारण सदस्य नभएको व्यक्तिलाई लेखा समितिमा लैजान नसकिएको श्रेष्ठको भनाई थियो । उता शर्माले भने खानेपानीमा अनियमितता भने बढीरहेको टिप्पणी गरे । ‘भ्रष्टाचार भयो भएन, त्यो छानबिनबाट थाहा होला, तर अनियमितता भएको छ’ शर्माले भने, ‘समस्या छ, अनियमितता छ भनेर स्विकार गर्दै सच्चिन सक्नुभएन भने भ्रष्टाचार बढ्छ ।’ शर्माले खानेपानी धनी संस्था भएर पनि अनियमितताकै कारण आलोचना भैरहेको बताए ।
संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले भने लामो समय काम गरेकोले अनुभवको आधारमा पनि कामलाई पारदर्शी बनाउन खोजेको भन्दै बचाउ गरे । उनले प्राविधिक कर्मचारी राख्ने बिषयमा नराखिएको बिषयमा भने बोलेनन् । बिधानमा प्राविधिक व्यक्ति प्रमुख राख्ने प्रावधान प्रयोगमा नआएको आरोप लागेपछि उनले उक्त धारणा राखेका हुन् । पदाधिकारी र कर्मचारीको अहमंपना बढी भएको, पाइपलाईन बिच्छाउने लगायतको काममा मापदण्ड पालना नभएको कारणले पानी बितरणमा समेत समस्या भएकोले अब सच्चिएर काम गर्न सुझाव दिइएको महतले बताए । महत संस्थाका पूर्व उपाध्यक्ष समेत हुन् । उपभोक्ता समितिका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले खानेपानीलाई सुचारु गर्न सबै मिलेर जाने, उपभोक्तालाई सफा र स्वच्छ पानी बितरण गर्न सबैको सहकार्य आवस्यक भएको बताए ।





