बागलुङ, २३ असार– निर्वाचनका बेला आफ्ना उम्मेदवारबिरुद्ध लागेको, कोरोना कहरका कारण प्रभावित भएका मजदुर तथा विपन्नलाई वितरण गर्न पठाईएको राहत सामग्री खोलामा बगाएको लगायतका आरोप लगाउँदै राष्ट्रिय जनमोर्चाले जिल्ला सदस्यसहित आफ्ना तीन जना कार्यकर्तालाई पार्टिबाट निष्कासन गरेको छ ।
मंगलबार पार्टीले प्रेस बिज्ञप्ती जारी गर्दै राजमोले ढोरपाटन नगरपालिका–४ का जिल्ला सदस्य तिलक पुन, सोही ठाउँका तिल बहादुर फगामी र गनबहादुर फगामीलाई पार्टिबाट निष्कासन गरेको जनाएको हो । निष्कासनमा परेका तिलक पुन राजमोबाट उम्मेदवार बनेर निर्वाचित वडाअध्यक्ष हुन् । तिल बहादुर फगामी सोही वडाका निर्वाचित वडा सदस्य हुन् ।
संकटको समयमा प्रवासीले सहयोग उठाएर ढोरपाटन नगरपालिका–४ खुंगाका विपन्न परिवारलाई बाँड्न लगिएको करिब एक लाख रुपैयाँको राहत सामग्री वडाध्यक्ष पुनको निर्देशन र सदस्य फगामीको संलग्नतामा खोलामा बगाएको राजमोका जिल्ला अध्यक्ष अमर थापाले बताए ।
पार्टिका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा विदेशबाट पठाएको राहत खोलामा बगाएर आपराधिक कार्य गरेकोले कारबाही गरिएको उल्लेख छ । वडाध्यक्ष पुनसहित दुई वडासदस्य यसअघि पनि गाउँमा कुटपीट गरेको घटनामा संलग्न भएकाले अनुशासनको कारबाहीमा परेका हुन् ।
राजमो बागलुङले घटनाबारे छानबिन गरी पठाएको प्रतिवेदनका आधारमा तीनै जना जनप्रतिनिधि दोषी देखिएकोले कारबाही गरिएको अध्यक्ष केसीद्वारा मंगलबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
गत मंसिरमा भएको उप–निर्वाचनमा राजमोबाटै गण्डकी प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका खिमबिक्रम शाहीबिरुद्ध अभिव्यक्ति दिने, कार्यकर्ता भड्काउने र असहयोग गरेका कारण जिल्ला कमिटि उनीसँग असन्तुष्ट थियो ।





