बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कमजोर पर्खालले खोस्यो जन्मदिनको खुसी

कमजोर पर्खालले खोस्यो जन्मदिनको खुसी

पोखरामा मृत्यु हुनेको संख्या ७, तनहुँको बस्ती डुवानमा


  • विजय नेपाली
  • असार २७ २०७७, शनिबार

पोखरा, २७ असार– सराङकोटकी पिंकी भर्खरै २३ आंै वर्षमा टेक्दै थिइन् । २२ वर्ष पुगेर २३ वर्ष टेकेको दिन उनले घरमा वर्थडे मनाउने तयारी गरिन् । आफ्ना ५० वर्षका बुबा टंकबहादुर थापामगर, ४३ वर्षकी सोममाया थापा मगर, ४ वर्षीया छोरी पिरिसासहित करिब १८–१९ जनाको साथमा उनले आफ्नो जन्मदिन मनाइन् ।
बिहानदेखि नै चिनेजानेका र बोल्ने जतिले शभकामना दिइरहेका थिए । आफ्नो जन्मदिनको खुसीयालीमा घरमा केक काटी मीठो खानपिन गरि रमाइरहेकीे पिंकीको खुसी केक काटेको करिब ४ घण्टापछि खोसियो । अचानक आएको पहिरालेले माइतीघर मात्रै बगाएन, आफन्त पनि खोस्यो । उनी धन्न बाँचिन् । बिहीबार माइतीघरमा रहेकी पिंकी शुक्रवार भने अस्पतालमा पुगिन् । उनको कम्मरभन्दा तल्लो भागमा चोट लागेको छ । यो त देखिने चोट भयो, बुबाआमा र आफन्त गुमाएको चोट बाहिरबाट के देखियोस् ?
पोखरा–१८, सराङ्कोट पँधेरीखोरमा हरेक वर्ष सामान्य पहिरो खसेकै हुन्थ्यो । ठूलो पानी आउँदा त्यहाँ रातभर त्रासले सुत्ने अवस्था भने हुने थिएन् । बिहीबार बेलुका भने घरमा खुसीमा माहोल भएको कारणले ठूलो पानी परे पनि उनीहरुमा त्यति त्रास भने थिएन् । उनीहरुले सोचेका थिएनन् कि, घरमाथि बनाइएको बाटोले विकास होइन, विनास गर्छ भनेर ।


टंकबहादुरको घरबाट करिब ५० मिटरमाथि मोटरबाटो छ । पहिरो जाने सम्भावना भएकाले टंकबहादुरको घरकै माथि ठूलो सिमेन्टको पर्खालसमेत थियो । लगातार परेको भीषण वर्षाको कारणले पहिरो गयो र त्यहीं पर्खाल घरमा मात्र होइन् उनीहरुको जीवनमाथि नै बजारियो ।
घटनापछि त्यहाँ आएका स्थानीयको एउटै आवाज थियो,‘ निर्माण कम्पनीले पर्खाल गतिलो नबनाएकै कारणले ठूलो क्षति भएको हो ।’ स्थानीय जनप्रतिनीधिले समेत पर्खालकै कारणले मानवीय क्षति भएको स्वीकारे । पोखरा–१८ का वडासदस्य ज्ञानबहादुर थापाले भने, ‘सडकको नालीसमेत बुझिएको थियो, जथाभावी सडक बन्नाले नै ठुलो क्षति हुनपुग्यो ।’
टंकका दाजु सोमबहादुर थापा मगर पनि सोहि दिन छोरीको जन्मदिनमा खाना खाएर राती १० बजे आफ्नो घर फर्केका थिए । सोही वडामा करिब ८–९ वर्ष पहिले पहिरो जाँदा आफ्ना भान्जा गौतम थापा मगरको मृत्यु भएको सुनाउँदै सडकमुनि लगाएको कमजोर पर्खालको कारण ठूलो क्षति भएको उनले ठोकुवा गरे ।


छिमेकीले गरे उद्दार
बिहीबार राती मनबहादुर र उनकी श्रीमती पार्वती ठूलो पानी परेकाले निदाउन सकेका थिएनन् । पहिले पनि पुरानो घर पहिरोले नै लगेको उनीहरुको हरेकवर्ष ठूलो पानी पर्दा निद्रा हराउने गर्दछ ।
बिहीबार पनि त्यस्तै भयो । पानीसँगे ‘गड्याङ्ङ्ग’ आवाज आयो । मुसलधारे पानी अनि जंगलको बिचमा रहेको बस्ती । सुनसान र अध्यारो हुने नै भयो ! मनबहादुर लाइट लिएर बाहिर निस्किए । उनको नजर गयो, टंकको घरतिर । उनले टंकको घरनै देखेनन् अनि पुगे छिमेकीको ढोका ढक्ढक्याए ।
मनबहादुर आफ्नी श्रीमतीलाई अरुलाई खबर गर्न भन्दै घटना स्थलतिर लागे । त्यहाँ केही थिएन । पहिरोले पुरिएको ठाउँबाट आएको एउटा आवाज मनबहादुरको कानमा प¥यो । आवाज महिलाको थियो । उनी ‘बचाऊ बचाऊ ’ भन्ने आवाज भएतिर लागे । आवाज पाहुँना हुन आएकी तनँहुकी सरस्वतीको थियो । छिमेकी र एउटै कूलपुज्ने भएपनि खासै मिल्ती नभएका मनबहादुरले चारजनाको जिवितै उद्दार गरे । आँगनमा ल्याए । पहिरोमा आफ्नो सास छाडेकी एक बालिकालाई समेत बोकेर आँगनमा ल्याए । उनकी श्रीमतीले घाइतेको सक्दो उपचार गरिन् । उनले नै वडासम्म खबर पु¥याएपछि करिब २ बजेको समयमा सशस्त्र प्रहरी र प्रहरीको टोली पनि आएर शव तथा घाइतेको उद्दार गर्न थाले ।
पोखरामा मृत्यु हुनेको संख्या ७
कास्कीमा पहिरोमा परि मृत्यु हुनेको संख्या ७ पुगेको छ । पोखरा महानगरपालिका–१८, सराङकोटको गोठादीमा ५ जना, पोखरा महानगरपालिका–२५ हेम्जामा १ जना र पोखरा–२६ पैतेमा १ जनाको ज्यान गएको जिल्लाप्रहरी कार्यालय कास्कीले जनाएको छ । पानी परिरहँदा पोखराको सेतीनदी गड्गडएको छ भने सेतीमा पानीको बहाव बढ्दा सेती नदी थुनिएको छ । नदी थुनिँदा यहाँको रामघाटमा रहेको सुकुम्बासी बस्ती पनि जोखिममा परेको छ ।
तनहुँको बस्ती डुवानमा


सेती नदीमा बाढी आउँदा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ र ८ मा पर्ने पुल्चोकक्षेत्र डुबानमा परेको छ । बाढीले वडा नम्बर ४ को २९ र वडा नम्बर ८ को १४ घर डुवानमा परेका छन् । बस्तीमा बाढी पस्दा ४३ घरधुरीका २१३ जना विस्थापित भएका छन् । उनीहरुलाई त्यहाँको मगर गुम्बा, आदर्श समाजको भवन र हिमाली समाजको भवनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->