बागलुङ, २८ असार– मानवअधिकारका लागि महिला, एकल महिला समूहले सती प्रथा अन्त्य भएको एकसय बर्ष पुगेको अबसरमा बागलुङमा स्मरण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । राणा प्रधानमन्त्री चन्द्र शमसेरले एक सय बर्षअघि सतीप्रथा अन्त्य गरेका थिए । सतीप्रथा अन्त्यपछि श्रीमानको निधन हुँदा सँगै मर्नुपर्ने बाध्यता हटेको थियो । उक्त घटनाको सम्झनामा स्मरण कार्यक्रम गरिएको समूहकी जिल्ला अध्यक्ष खड्गकुमारी खड्काले बताइन् ।
कार्यक्रममा समूहकी अगुवा तथा गण्डकी प्रदेशकी सदस्य नन्दकुमारी क्षेत्रीले यसअघिका एकल महिलाले भोगेका समस्या अब कसैले भोग्ने दिन नआउन सबैको साथ र सहयोग चाहिने बताइन् । उनले तत्कालिन समयमा महिलाले जिउँदै जल्नुपर्ने, पछि बिधवा बनेर सामाजिक काममा पनि सहभागि बन्न नपाउने अबस्था हटाउनुपर्ने समेत बताइन् ।
कार्यक्रममा नेपाल महिला संघकी जिल्ला अध्यक्ष शकुन्तला शर्माले संविधानले महिला र पुरुष समान हुन् भन्ने स्विकार गरिसकेकोले अब हरेक क्षेत्रमा पुरुष सरह अधिकार पाउनुपर्ने बताइन् । ‘हिजो मारिनुपर्ने अबस्थाबाट बाँच्न मात्रै पाएका महिलाले अब सम्मानपूर्वक बाँच्ने अधिकार पाएका छन्’ शर्माले भनिन्, ‘अब सार्थक जीवनका लागि राज्यले शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरमा पनि एकल महिलालाई प्राथमिकता दिनुपर्छ ।’ सानै उमेरमा बिधवा भएका महिलाले जीवनभर एक्लै बस्दा सामाजिक हिंसासमेत खेपेको उनको भनाई छ । हिंसा अन्त्यका लागि पनि राज्यले रोजगारीका अबसर सिर्जना गर्नुपर्ने उनको जोड थियो ।
समूहकी अध्यक्ष खड्गकुमारी खड्काको अध्यक्षता, कोषाध्यक्ष लक्ष्मी जैसीको संचालन र सचिव सीता थापाको स्वागतमा सम्पन्न कार्यक्रममा एकल महिलाले पाउनुपर्ने कानूनी र सामाजिक अधिकारको लागि राजनीतिक संघसंगठनका महिलाले पनि साथ दिनुपर्ने माग गरिएको थियो ।
२०६५ सालमा समूह गठन भएपछि सीपमूलक तालिम, न्यायका लागि बहस र छलफल तथा अन्य क्रियाकलाप संचालन पनि भएको छ । नेपाल सरकारले एकल महिलाका लागि सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । केही समयअघि एकल महिलाको भत्ता काट्ने चर्चा चलेपछि संगसंगठनकै बिरोधबढेपछि सरकारले फेरी नियमित दिन थालेको छ ।





