बागलुङ, ३० असार– आफ्नै कार्यालयका पूर्व कर्मचारीले अनियमितता गरेको भन्दै सामाजिक सञ्जालमा लगाएको आरोपको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले खण्डन गरेका छन् । मंगलबार प्रेस बिज्ञप्ती जारी गर्दै शर्माले हुँदै नभएको काममा अनियमितता गरेको आरोप लागेको भन्दै आँफुले कुनैपनि भ्रष्ट व्यवहार नगरेको उल्लेख गरेका छन् ।
करार सेवामा रहेका प्राबिधिक कर्मचारी खगेन्द्र क्षेत्रीले काम गर्दा केहि गलत अभ्यास गरेको, सेवाग्राहीमैत्री आचरणमा बस्न नसकेको, गलत प्रवृत्तिका मानिसहरुसँग हेलमेल बढाएको जस्ता कारणले कार्यालयमा हाजिर हुन नदिएका कारण आँफुलाई नभएको आरोप लगाएको भन्दै शर्माले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
‘तत्कालिन करार सेवाका सव–ईन्जिनियर खगेन्द्र क्षेत्रीले एक पटकको लागि माफी मागेर काममा निरन्तरता दिन कार्यपालिका सदस्यहरुलाई गरेको अनुनय विनयबाट प्रभावित भई कार्यपालिकाले निजको सेवालाई निरन्तरता दिने निर्णय गरेको शर्माद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
क्षेत्रीले अनियमितता भएको भनिएको डिपिआर गत आर्थिक वर्षको कार्यक्रम नै नभएको उल्लेख गर्दै शर्माले आँफुले गरेको कामको सम्बन्धमा सार्वजनिक बहस गर्न तयार रहेको समेत स्पष्ट पारेका छन् । उनले नगरपालिकाले अध्ययनका बनाएको छानवीन समितिबाट सत्यतथ्य छिट्टै बाहिर आउने उल्लेख गरेका छन् ।





