सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

हेर्दा–हेर्दै पहिरोले घरगोठ बगायो, ७ परिवार बिस्थापित

हेर्दा–हेर्दै पहिरोले घरगोठ बगायो, ७ परिवार बिस्थापित


  • ढोरपाटन संवाददाता
  • असार ३० २०७७, मंगलबार

बागलुङ, ३० असार– हिउँदभरी चुपचाप बसेको नगरपालिका बर्षा लागेपछि घरमुनीको जमिन भत्काउन डोजर लिएर आयो । विकास आफ्नै हो भनेर जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका टिकाराम शर्माले कुनै अबरोध गरेनन् । यतिका धेरै पानी पर्ला र घरमुनीको जमिन भत्किएर सडकमा घरपुग्ला भन्ने उनलाई लागेको थिएन् ।
असारे विकासले बुढ्यौली लागेका टिकारामलाई मंगलबार बिहान घर न बास बनायो । सोमबार साँझदेखि परेको बर्षासँगै आएको पहिरोले पिप्लेका टिकाराम शर्माको घरगोठ भत्किएर बाटोमा पुगेको छ । उनीसँगै सोही ठाउँकी उमा शर्माको गोठ पनि बगाएको छ । बिहान घरगोठको काम सकेर पिँडीको डिलमा बसेका टिकाराम त्यतिबेला हक्कानिए जतिबेला आँफै बसेको घरमुनीको जमिन बगिरहेको देखे ।
बिहानको साढे सात बजेको हुँदो होे भैंसीको दाम्लो र भान्छामा रहेकी श्रीमतीको हात समातेर भागेका टिकारामले पहिरोबाट जसोतसो ज्यान त जोगाए तर घरमा रहेका खाद्यान्न, धनसम्पत्ती र लत्ताकपडा पुरिए । साढे सात बजेसम्म बसेको पिँडीको नामो निसान आधा घण्टापछि टिकारामले फेला पारेनन् । ‘चार तोला सुन, ६० हजार पैसा घरमै थिए, माटोमा मिले’ शर्माले भने ‘कपडा, खाद्यान्न र घरका सामानको त के हिसाब गरौं, घरै माटोमा मिलेपछि ।’


बर्षा लागेपछि स्तरोन्नतीको नाममा खनिएको बाटोको भित्रीभागमा उनको घर पुरिएको छ । पिप्लेका टिकाराम र उमा शर्माको उठिवास लगाएको पहिरोले स्थानीय गंगा देवी शर्मा, दुर्गा प्रसाद शर्मा, प्रेम शर्मा, भवानीश्वर शर्मा र छविलाल जिसीको परिवार बिस्थापित बनेको छ । आसपासमा रहेको जमिन बगिरहेकाले बारी, खरबारीसमेत माँसिएको स्थानीय शिक्षक कृष्ण प्रसाद शर्माले बताए । अहिले बिस्थापित सबै आफन्तकोमा शरण मागेर बसेका छन् ।
जैमिनी नगरपालिकाको दिगो बिकास कार्यक्रमअन्र्तगत दश लाख रुपैयाँ खर्चेर स्तरोन्नतीको काम उक्त सडकमा भएको थियो । ‘तीस प्रतिशत रकमले फराकिलो बनाएकै ठाउँमा पहिरो आयो’ जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले भने ‘नसोचेको ठाउँमा पहिरो गएर गाउँनै उठायो ।’
पहिरोले बगाएका घरमा रहेका लत्ताकपडा तथा गरगहनाको प्रहरीले खोजी थालेको छ । प्रहरी चौकी कुश्मीशेराबाट गएको टोलीले उद्धारको काम थालेको जनाएको छ । पैञ्युथन्थापकै सहरातेमा ठेउले खोलामा आएको बढीका कारण स्थानीय अमर बहादुर क्षेत्रीको परिवार पनि बिस्थापित भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->