बागलुङ, ३१ असार– भारतीयसहित बिभिन्न देशका सेनाबाट निवृत्तलाई नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता नदिएकोमा बिरोध गरेका छन् ।
नेपाल भूतपूर्व सैनिक संघको अगुवाईमा उनीहरुले नेपाल सरकारको ध्यानाकर्षण पनि गराएका छन् । बिदेशबाट निवृत्तीभरण पाएकै भरमा सरकारले जेष्ठ नागरिकका लागि दिएको सुबिधाबाट वञ्चित नगर्न भनेका हुन् ।
‘हामीले रगत पसिना बगाएको पेन्सन खाएका हौं, तर नेपाल सरकारले उमेरका कारण गर्ने सम्मान हामीले नपाउने ?’ संघका जिल्ला अध्यक्ष क्याप्टेन हरिबहादुर भण्डारीले भने, ‘डेढलाख भूपूको सम्मानका लागि राज्य गम्भिर बनोस् ।’ सरकारले असार १७ गते मन्त्रीस्तरीय निर्णय गरेर भूपू सैनिकको सामाजिक सुरक्षाभत्ता कटौती गरेको थियो ।
बुधवार संघका पदाधिकारीले बागलुङस्थित प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका छन् । उनीहरुले पेशागत बिषय र राज्यको दायित्व र उमेर अनुसार पाउने सामाजिक सुरक्षाको भिन्नता राज्यले नबुझेको बताए ।
‘पैसा हामीसँग होला, तर राज्यको सम्मान पाउन खोजेका हौं’ उनले भने, ‘उमेरले ७० काटेपछि हामी राज्यको दायित्वमा पर्नुपर्छ ।’ निवृत्ती पाएको भन्दै एकल महिलालाई पनि सामाजिक सुरक्षाभत्ता कटौती भएको छ । सरकारले ७० बर्ष काटेका जेष्ठ नागरिकलाई मासिक २ हजार भत्ता दिंदै आएको छ ।





