म्याग्दी १ साउन – म्याग्दीमा २८ जनाको मृत्यु, तीनजना बेपत्ता र सयौं परिवार विस्थापित हुनेगरी गएको भीषण पहिरोको करिब एकसाता पछि गण्डकी प्रदेश सरकार घटनास्थलमा पुगेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सहित सामाजिक विकास मन्त्री नरदेवी पुन र भौतिक तथा पूर्वाधार मन्त्री रामशरण बस्नेत सहितको टोली औषधी र राहत सामाग्री सहित बिहीवार म्याग्दीको पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरेको छ ।
गत विहीबार राती जिल्लाको धवलागिरि गाउँपालिका ६ मराङ र मालिका गाउँपालिका ७ बिममा गएको पहिरोमा परेर ज्यान गुमाएकाको परिवार र विस्थापितलाई भेट्न मुख्यमन्त्री गुरुङ, सामाजिक विकास मन्त्री पुन,भौतिक तथा पूर्वाधार मन्त्री बस्नेत सहित मुख्य सचिव हरि बस्याल लगाएत प्रदेशका सुरक्षा निकायको टोली नेपाली सेनाको एमआई १७ हेलिकप्टरमार्फत पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत वितरण र त्यहाँको अवस्थाको बारेमा जानकारी लिएको हो ।
खाद्यान्न,लत्ता कपडा, औषधी लगाएतका सामाग्रीहरु पहिरो पीडितहरुलाई वितरण गरिएको छ । त्यस्तै बेनीमा विपद् व्यवस्थापन समितिको टोलीलाई प्राप्त खाद्यान्न,त्रिपाल सहितको सामाग्री समेत पहिरो पीडितहरुलाई दिइएको छ ।
पहिरो प्रभावित क्षेत्रमा आवश्यकता अनुसारका सामाग्री तथा विस्थापितलाई पुर्नस्थापना लगाएतका कार्यहरुमा समेत छलफल भएको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।
गत बिहीबार राती गएको पहिरोको करिब एकसाता पछि प्रदेशका मुख्यमन्त्री सहितको टोली राहत लिएर घटनास्थल पुगेपछि स्थानीयले तत्काल राहत तथा पुर्नस्थापनाको माग गरेका छन् । मराङ र बिममा गएको पहिरोमा परि २८ जनाले ज्यान गुमाएका छन् भने ३ जना अझै बेपत्ता छन् ।




