बागलुङ, ५ साउन– नवआगन्तुक प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले शान्ति सुरक्षाको नियमित दैनिकबाहेक जिल्लामा सुशासन र नागरिकको गुनासो सम्बोधनमा ध्यान दिने बताएका छन् ।
सोमबार पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम मार्फत न्यौपानेले पारदर्शीता, जवाफदेहिता र सुशासनलाई प्राथमिकता दिएर काम गर्ने बताए । उनले भ्रष्ट्राचार बिरुद्ध शुन्यसहनशिलताको नीति अबलम्बन गर्ने समेत प्रतिवद्धता जनाएका छन् ।
‘संक्रमक रोग नियन्त्रण, बिपत व्यवस्थापन र सेवा प्रवाह चुस्त भएमा मात्रै जनताले प्रशासनप्रति भरोसा र विश्वास गर्छन्’ उनले भने,‘केही नयाँ र रचनात्मक काम गरेर देखाउन प्रयासरत छु ।’ राजनीतिक दल, स्थानीय सरकारका प्रमुख र प्रशासकीय प्रमुखहरु तथा पत्रकारबाट पाउने सल्लाहसुझावले सेवा प्रवाह चुस्त बनाउन सहयोग पुग्ने समेत उनले बताए ।
जिल्ला कमाण्ड पोष्टको अध्यक्ष समेत रहेका न्यौपानेले सही सूचना नियमित र सही समयमा दिने बिषयमा पत्रकारहरुसँग नियमित अन्तरक्रिया र छलफल हुने समेत बताए । बर्षातको समय भएकोले बिपत न्युनिकरणका लागि प्रहरी, सेना र अन्य स्वयंसेवी संस्थाको सहकार्य बढाएको भन्दै तत्काल जोखिमका क्षेत्रमा उद्दार र खोजीमा जुट्ने जनशक्तिको व्यवस्थापन भएको पनि जानकारी दिएका छन् ।
पछिल्लो समयमा सरकारी साधनको दुरुपयोग भैरहेको बिषय आफ्नो चासोमा परेको उनले बताए । ‘मेरो क्षमताले भ्याए सम्म जनताको करले किनेका सरकारी गाडिको दुरुपयोग हुनबाट जोगाउनेछु’ उनले भने, ‘पहिला सुझाव दिने हो, कानूनले दिएको अधिकार प्रयोग गर्न पनि सकिन्छ ।’ सुशासन युक्त जिल्ला बनाउने आफ्नो अभियानमा सबैको साथ र सहयोग प्राप्त हुने समेत उनले बताए ।
जिल्ला प्रशासन कार्यालय सहित अन्य कार्यालयमा सूचना अधिकारीहरु सूचना बिहिन हुने अबस्था आएको प्रति पत्रकारले राखेको जिज्ञाशामा तत्काल छलफल गरेर सूचना प्रवाहमा एकरुपता र जवाफदेहिता बनाउन सूचना अधिकारीले सूचना पाउने व्यवस्थापनि गर्ने बताए । बर्षातकै समयमा नदीजन्य बस्तुको उत्खनन् र दोहन प्रति पनि चासो राख्ने उनले प्रतिवद्धता जनाएका छन् । कानूनले नदिएको समयमा हुने काम गैरकानूनी भएकोले अनुगमन र प्रभावकारीता बनाउन पहल गर्नेपनि बताए ।
प्रशासनका सूचना अधिकारी धिरेन्द्रराज पन्तले सक्दो सूचना प्रवाहमा खटिएपनि भएका कमीकमजोरी सच्याएर अगाडि बढ्ने प्रतिवद्धता जनाए । साथै उनले पत्रकारहरुले पनि सूचना नदिएको बिषयमा वा तत्काल नपाएकै भरमा देख्लास, पख्लास भन्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने टिप्पणी पनि गरेका थिए ।
नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले जिल्लामा छरिएर रहेका संचार माध्यम र पत्रकारहरुले सूचनामा राख्ने जिज्ञासाप्रति प्रशासनले पनि समान चासो र सम्बोधन गर्नुपर्ने बताए । उनले भौगोलिक कठिनाइले सूचना संकलन देखि प्रशासनिक सेवामा पर्ने असुबिधाबारे प्रमुख जिल्ला अधिकारीले सहजीकरण गर्ने माध्यम खोज्न पनि सुझाव दिए । कार्यक्रममा क्रियाशिल पत्रकारहरुले पनि सुझाव र जिज्ञाशा राखेका थिए ।





