बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रुप्से झरनाले होटल र पुल, कालीगण्डकीले मन्दिर बगायो

रुप्से झरनाले होटल र पुल, कालीगण्डकीले मन्दिर बगायो

अन्नपूर्णमा एक जना बेपत्ता, कालीगण्डकीले राम मन्दिरको भवन बगायो


  • धु्रबसागर शर्मा
  • साउन ६ २०७७, मंगलबार

म्याग्दी ६ साउन – भीषण वर्षाका कारण हिमाली जिल्ला म्याग्दीमा बाढी र पहिरोले क्षति पुर्याएको छ । अन्नपूर्ण गाउँपालिका-३ दानाको काभ्रेमा बाढीले बगाएर एक जना बेपत्ता भएका छन्। काभ्रेको भजेनी खोलामा आएको बाढीले बगाएर स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई बेपत्ता बनाएको वडा सदस्य हस्तबहादुर पुनले बताए। सोमबार साँझ बाढीमा बेपत्ता गर्बुजाको खोजी भइरहे पनि मंगलबार बिहानसम्म नभेटिएको उनले बताए।
उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३ स्थित पर्यटकीय स्थल रुप्से झरनामा आएको बाढीले एक होटेल ,पुल र स्काभेटर बगाएको छ । झरनामा आएको बाढीले सुवर्ण खत्रीको गोल्ड ल्याण्ड वाटर फल होटेल, गजुरमुखी कम्पनीको एउटा स्काभेटर मेशिन ,बस र पुल बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । स्थानीय हस्तबहादुर पुनका अनुसार सोमबार दिउसोदेखि रुप्से झरनामा बाढी आउन शुरु गरेको थियो । मंगलवार विहानसम्म पनि त्यहाँ बाढी आइरहेको छ ।यता, कालिगण्डकी नदी र म्याग्दीको नदीको बहाव बढेकाले तटिय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ । बेनी–जोमसोम सडक खण्ड अन्तर्गत पर्ने रुप्से झरनाको तल रहेको पुल बगाएको हो । जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सारिएको प्रहरीेले जनाएका छ । रुप्से झरनामा बाढी आएकोले कालिगण्डकी नदीमा पनि पानीको बहाब बढेकाले सबैलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । नदीमा आएको बाढीले क्षती पु¥याएको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।


कालीगण्डकीले राम मन्दिरको भवन बगायो
कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर संगै सिमा जोडिएको पर्वतको जलजला गाउँपालिका–२ मा पर्ने राम मन्दिरको भवन बगाएको छ । रुप्सेखोलामा आएको बाढीका कारण कालिगडकी नदिको बहाब बढेको छ ।
राम मन्दिरको भवनमा बस्ने सात जनाको समान स्थानीयले सुरक्षित स्थानमा सारेका छन् । राम मन्दिरमा बस्दै आएका सात जना गलेश्वरमा रहेको अन्नक्षेत्रमा आएर बसेका गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाँले जानकारी दिए ।
कालीगण्डकीमा आएको बाढीले दानामा निर्माणाधीन २२० केभी क्षमताको सब स्टेशन र क्रशर उद्योग कटानको जोखिममा परेको स्थानीय गंगा पुनले जानकारी दिए । बाढीका कारण कालीगण्डकी, म्याग्दी र राहुघाट नदीको सतह बढेको छ। भुरुङ्ग तातोपानीका बासिन्दा कटानको त्रासका कारण सुरक्षित ठाउँतर्फ गएको स्थानीय प्रेम गुरुङले बताए ।
तटीय क्षेत्रमा रहेका दरवाङ्ग, बाबियाचौर, तातोपानी, बेनी, गलेश्वर, तिप्ल्याङ, पोखरेबगरमा उच्च सतर्कता अपनाइएको छ। स्थानीय प्रशासनले तटीय क्षेत्रमा कटानको जोखिम भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->