बाढी र पहिरोका कारण बागलुङका सडक अबरुद्
बागलुङ, ६ साउन– लगातार परेको बर्षासँगै आएको पहिरोले जिल्लाको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको छ । कालिगण्डकी करिडोर र बागलुङ कुश्मीशेरा सडक खण्डमा ठाउँ ठाउँमा झरेको पहिरोका कारण सोमबार दिउँसोदेखि दक्षिण क्षेत्रसंग सदरमुकामको सडक सम्पर्क टुटेको हो । करिडोरको मालढुंगा बलेवा बिमानस्थल खण्डमा १५ दिन पहिलादेखि खसेको पहिरो पन्छाउन नसक्दा लामो समयदेखि सवारीसाधान चलेका छैनन् ।
आईतवार राति देखि निरन्तर भैरहेको बर्षाले एसियाली बिकास बैंकको सहयोगमा निर्माण भएको कृषि सडक समेत भासिएको छ । अहिले दक्षिणको सडक सम्पर्क पुर्णरुपमा टुटेको यातायात व्यवसायी नन्दप्रसाद घिमिरेले बताए । बागलुङ नगरपालिका–१० को गलुवा, टिमिलेमा सडक भासिएको छ । ‘बाटो बन्द भएका कारण सवारी चलेका छैनन्, कृषि सडक तत्काल बन्ने अवस्थामा छैन्, करिडोर खुलाईएको छैन्’ उनले भने, ‘एम्बुलेन्स, दुध तथा खाद्यान्न बोक्ने सवारी आवतजावतमा समेत समस्या परेको छ ।’
पहिरोले अबरुद्ध सडक खुलाउने बिषयमा स्थानीय बागलुङ नगरपालिकाले भने आफ्नो जिम्मेबारी नभएको जनाएको छ । ‘सबै काम हामीलेनै गर्न पर्छ ? प्रदेश र संघ सरकार छैनन्’ ढोरपाटनसँगको टेलिफोन सम्बादमा नगरप्रमुख जनकराज पौडेलले भने, ‘बाटो खोल्न सांसद र संघ सरकारलाई भन्नुस ।’ उनले विकल्प दिने बिषयमा प्रहरीलाई जिम्मेबारी दिएको बताए । करिडोर आयोजना कार्यालय पाल्पाले पनि पानी परिरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन नसक्ने जनाएको छ ।
आयोजना कार्यालय पाल्पाका प्रमुख नगेन्द्र सुवेदीले बर्षा रोकिएपछि मात्रै सडक खुलाउने बिषयमा सोच्न सकिने बताए । दक्षिणका दुवै सडक अबरुद्ध हुँदा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका सर्वसाधारणले आपतकालिन समयमा प्रयोग गर्न सक्ने सवारी समेत रोकिने अवस्था आएको गुनासो गरेका छन् । निरन्तरको बर्षाका कारण जिल्लाका सबै स्थानीय तहमा निर्माण भएका स्थानीय सडकहरु अबरुद्ध भएका छन् ।
मध्यपहाडी लोकमार्ग अन्तरगतको बोक्से खाल्टामा पहिरो जाँदा मध्येपहाडी लोकमार्ग अबरुद्ध भएको छ । जिल्लाको पश्चिम क्षेत्र जोड्ने एकमात्रै सडक अबरुद्ध हुँदा सदरमुकाम सँगको सम्पर्क टुटेको छ । तमानखोलाको भुजीखोलामा आएको बाढीका कारण सडक अबरुद्धहुँदा तमानखोला गाउँपालिकामा सडक सम्पर्क टुटेको छ । निसीखोला र बरेङ गाउँपालिका जोडिएका सडकहरुमा समेत ठाउँठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ ।






