बागलुङ, ९ साउन– नजिकैको खरवारीमा गत हिँदमा काटेको खरले छाएको छानामा वर्षाको समयमा पानी चुहिन्छ की भन्ने चिन्ता थियो जैमिनी नगरपालिका–९ पैञ्यूथन्थापका प्रेम आचार्यलाई । जैमिनीले गत आर्थिक वर्ष उनको जस्तै खरको छाना भएकालाई जस्तापाता दिने भन्ने सुनेका प्रेमले यो वर्ष पानी चुहिने समस्या समाधान हुने सोचेका थिए ।
धुरीको खरले वर्षेनी समस्या हुने गरेका प्रेमको छानो फेरिन नपाउँदै अहिले घरको जगनै जोखिममा छ । जैमिनी–९ ले चालु वर्षको दिगो विकास कार्यक्रमअन्र्तगतको सडक निर्माण गर्ने क्रममा उनको घर जोखिममा प¥यो । गत साता गएको पहिरोले दाजु टिकाराम आचार्यको घर माटोमा मिलाएको छभने अरु तीनभाई र दुई छिमेकीको घरसमेत जोखिममा रहेको पिडित दुर्गा आचार्यले बताए ।
‘पारीतिर टिनका पाता बाँडेको देखेको थिएँ हामीलाई पनि मिल्ला भन्ने थियो’ आचार्यले भने ‘अब त जगै रहेन खरको ठाउँमा लगाउन दिने भनेको जस्तापाता दिए छाप्रो हालेर रात काट्नहुथ्यों ।’ विकास निर्माणका क्रममा सम्भावित जोखिमको मुल्यांकन नै नगरी डोजर चलाउँदा पैञ्युथन्थापको पिप्ले गाउँनै सखाप हुने अवस्थामा छ । पिप्ले मात्रै होईन जैमिनीमा सडककै कारण ३१ घरपरिवारको घर धरापमा छन् ।
नगरले गत वर्ष ६२ लाख खर्चेर खरका छाना विस्थापन गर्न किनेको छ । ‘खरको छानाबाट चुहिने पानी देखेको सरकारले घरको जगै उडेको देखेन’ घर बगेसिछ टिकाराम भन्छन् ‘जगै नरहेपछि छानो केल्लाई हाल्नु ।’
पाँच लाख बराबरको जस्तापाता वितरण भैसकेको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले बताए । चालु वर्षमा समेत घरका छानालाई मजवुद बनाउन १ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरले कमजोर जग भएका घरको व्यवस्थापनको भने कुनै योजना बनाएको छैन् ।
जैमिनी मात्रै होईन जिल्लाका दश ओटै स्थानीय तहले वर्षातको समयमा हुनुसक्ने सम्भावित जोखिमको अध्ययन गरेर जनधनको क्षति कम गर्ने योजना नबनाएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा बताउँछन् ।
‘अहिले महसुस भएको छ, अब सम्भावित जोखिम बस्तीको विषयमा सोच्ने बेला आएको छ’ थापाले भने । स्रोत कम हुने र जोखिममा रहेका घरको स्थानान्तरणको काम महंगो हुने भएकाले योजना बनाएर काम गर्न कठिन रहेको उनले बताए । आफैले गरेका विकासे गतिविधिका कारण यो वर्ष झण्डै आधा दर्जन घरपरिवार विस्थापित भएको काठेखोलाले पनि गत आवमा १५० घरका छाना फेरेको छभने यो वर्षपनि १५० घरमा छाना फेर्ने कार्यक्रम बनाएको छ ।
बिहिबार मात्रै बागलुङ नगरपालिकाको वडा नं. ५ मालिकामा ७ परिवारले घरगोठ छोडे । बाढी र पहिरोको जोखिम छ भन्नेकुरा उनीहरुलाई पूर्व जानकारी थियो । मालिकाका यादव रेग्मीले पूर्व जानकारी भएकाले परिवार र छिमेकीले घरगोठ छोडेर ज्यान जोगाएको बताए ।
खरको छानोमा आँखा पु¥याएको बागलुङ नगरले पनि जग जोगाउने बिषयमा भने सोँचेकै छैन् । ‘११÷१२ प्रकारको जमिन हुँदोरहेछ, त्यो बिषयमा अध्ययन भैरहेको छ’ नगरप्रमुख जनकराज पौडेलले भने ‘एकिकृत बस्ती विकास नभएसम्म जोखिममा परेकालाई जोगाउन कठिन छ ।’ व्यवस्थित बस्ती विकासको कार्यक्रम सञ्चालन गर्ने योजनामा रहेको नगरले तत्काल गर्न सकिने जोखिम न्युनिकरणको काम भने थालेकै छैन । खरको छाना विस्थापनमा नगरले गत आवमा २० लाख खर्चेको थियो ।
जिल्लाका सबै स्थानीय तहले विपद व्यवस्थापन कोष बनाएका छन् । दैविक प्रकोप पीडितलाई राहत दिने काममा मात्रै कोष परिचालन हुने गरेको छ । मानव सिर्जित समस्याका कारण आउने विपत्तिको विषयमा पूर्व सूचना र सहि व्यवस्थापन गर्न सकिने भएपनि त्यसतर्फ स्थानीय सरकारको ध्यान नपुगेको सरोकारवालाको गुनासो छ । उचित व्यवस्थापन नभएकै कारण बिहिबारसम्म जिल्लाभर ५५ परिवार विस्थापित भएका छन् ।






