म्याग्दी, १७ साउन– उद्योग वाणिज्य संघ म्याग्दीले शनिबारदेखि ५० औं वर्षमा प्रवेश गरेको छ । ५० औं वर्ष प्रवेशको अवसरमा शनिबार एक कार्यक्रमको आयोजना गरेर संघले स्वर्ण महोत्सव मनाएको छ ।
विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को संक्रमणको जोखिमका कारण स्वर्ण जयन्ती समारोहको आयोजना नगरे पनि संघले आफ्नो कार्यालयमा सामान्य रुपमा नै स्वर्ण महोत्सव मनाएको हो ।
सोही अवसरमा म्याग्दी उद्योग वाणिज्य संघले बाढी पहिरोबाट पीडित भएकाहरुलाई ४ लाख आर्थिक सहयोगको घोषणा गरेको छ । बाढी पहिरोको चपेटमा परेका धौलागिरि र मालिका गाउँपालिकाका पहिरो पीडितलाई एक÷एक लाख रुपैयाँका साथै मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकाका बाढी पहिरो पीडितलाई ५०÷५० हजारका दरले सहयोग उपलब्ध गराउने निर्णय भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले बताए ।
२०२७ साल साउन १७ गते बेनीका ४ जना व्यवसायीले स्थापना गरेको संघ यहाँसम्म आइपुग्दा निजी क्षेत्रको बलियो संस्थाका रुपमा स्थापित भएको कार्यक्रमका सहभागीले बताएका थिए ।
म्याग्दी उद्योग वाणिज्य संघका मानार्थ सदस्य नैनकुमार श्रेष्ठले केक काटेर स्वर्ण उत्सवको शुभारम्भ गरेका थिए । कार्यक्रममा संघ पूर्व अध्यक्षहरु सुर्यप्रसाद मरासिनी, जिवन कुमार विश्वकर्मा, सुदर्शन कुमार श्रेष्ठ, कुविर श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संघका जिल्लाभर गरेर २७ सय सदस्य छन् ।





