शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ऋणको भारी बिसाउँछु भन्दा कोरोनाले किच्यो

ऋणको भारी बिसाउँछु भन्दा कोरोनाले किच्यो

बागलुङमा जाँच हुँदा संक्रमण पुष्टि भएका युवाका गाउँमा छैन कोरोना


  • ढोरपाटन संवाददाता
  • साउन २५ २०७७, आइतबार

बागलुङ, २५ साउन– ‘बैनीको बिहे गर्दा लागेको ऋणको व्याज बढ्दै थियो । लकडाउनका कारण देशनै ठप्प भएपछि बागलुङमा काम गर्दा गर्दै छोडेर महोत्तरी पुगेका उनलाई साहु र बैंकले ताकेता गरिरहे । कहिले व्याजको समयसिमा कटेको त कहिले साँवाको किस्ता तिर्नु भन्ने खबर आउँथ्यो ।’ कामको खोजीमा महोत्तरीबाट बागलुङ आएपछि कोरोना संक्रमण पुष्टि भएका युवाले टेलिफोनमा ढोरपाटनसंग भने ‘ऋण तिर्ने पैसा कमाउन यहाँ आएका हौं ।’
काम नगरी ऋण तिर्नै उपाय थिएन । झण्डै चार महिनाको घर घर बसाईपछि लकडाउन खुल्यो, काम चल्छ भन्ने थाहा पाएपछि उनी साथीभाइसँग पुनः कामका लागि बागलुङ फर्किए । गत साउन १० गते महोत्तरीको औरही नगरपालिका–८ बाट हिँडेका उनीहरु १३ गते बागलुङ आईपुगे । २२ वर्षिया उनीसहित कामकै खोजीमा सोही वडाका १७ जना युवा बागलुङ आएका थिए ।
कोरोना महामारी देशभर चलिरहे पनि उनीहरुको घरगाउँमा त्यत्ति प्रभाव छैन । छिटफुट छिमेकबाट आउनेमा मात्रै देखिएकाले कोरोनाको त्रासभन्दा साहुको ऋणले बढी पिरोल्थ्यो उनीहरुलाई । त्यसैले कामका लागि धौलागिरी अस्पतालको ‘सि’ व्लक भवन निर्माण गरिरहेको मिलिनियम विल्डर्सका सञ्चालक सितल ढकालले उनिहरुलाई काममा बोलाए । महोत्तरीबाट बस चढेर उनीहरु खाना खाने समयबाहेक कहिँकतै नरोकिएको अर्का युवा बताउँछन् । बागलुङ आएपछि बाहिरी जिल्लाबाट आएको भन्दै उनीहरुलाई निर्माणाधिन भवनमै राखियो ।
गत साउन १४ गते सबैको पिसिआर जाँचका लागि थ्रोट स्वाव संकलन गरेर पठाईयो । नतिजा १८ गते मात्रै आयो । सँगै आएका एक युवामा कोरोना संक्रमण पुष्टि भयो । बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको थियो । पाँच दिनसम्म संक्रमितको सम्पर्कमा रहेको भन्दै उनीहरुको पुनः स्वाव लिएको पाँच दिनपछि १३ जनामा कोरोना देखिएको छ । उनीहरुमा संक्रमण पुष्टि भएपछि स्रोत खोजी हुन थालेको छ ।
महोत्तरीबाट बागलुङ आएकाले उनीहरुको कोरोना जाँच भएको हो ।
औरहरीमै भएको भए सरकारको प्रोटोकलअनुसार उनीहरुको जाँच हुने थिएन । ‘हामीकहाँ ३४ जनामा आरडिटी पोजेटिभ आएर जाँच गर्दा पिसिआर नेगेटिभ आएको हो’ औरहरी नगरपालिकाका प्रमुख सुनिल कुमार यादवले भने ‘पिसिआर पोजेटिभ देखिएका ११ जना घर फर्किए, सक्रिय संक्रमित दुईजना मात्रै छन् ।’ उनका अनुसार, कामका लागि बागलुङ गएका युवाको गाउँ वडा नं. ८ मा कुनैपनि संक्रमित छैनन् । संक्रमण देखिएका पनि भारतीय सिमा वारपार गर्नेहरु मात्रै छन् ।
‘कसरी संक्रमण भयो थाहा भएन, उनीहरुसँग एक जना भारतीयको उठबस थियो, उसैबाट आएको हुन सक्छ’ यादव भन्छन् ‘बागलुङ पुगेर संक्रमित भएका परिवार आएर यहिँ ल्याउनु प¥यो भन्न थालेका छन् ।’
संक्रमित युवाका परिवारले नगरपालिका र युवाहरुलाई फोन गरेर औरहीकै क्वारेन्टाइनमा बस्नेगरी फर्किन दबाव दिन थालेका छन् । ‘काम गर्ने ठाउँभन्दा गाउँ सुरक्षित छ यहिँ आएर बस्नुपर्छ भनेर बाआमा र बहिनीहरु फोन गरेर रुन्छ’ संक्रमित युवा भन्छन् ‘हामीलाई घरछेउमै पठाईदिए सजिलो हुन्थ्यो ।’ संक्रमण पुष्टि भएका उनीहरुलाई धौलागिरी अस्पतालको आईसोलेसनमा राखिएको छ ।
गण्डकी प्रादेशिक प्रयोगशला पोखरामा गरिएको परीक्षणमा ६ दिनअघि नेगेटिभ रिपोर्ट आएका मजदुरहरुको ६ दिनपछि गरिएको परीक्षणमा पोजेटिभ आएको हो । उनीहरु २१ देखि ४१ वर्ष उमेर समूहका रहेका छन् । उनीहरु सबै पुरुष हुन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->