म्याग्दी, २८ साउन– रघुगंगा नदीमा आएको बाढीले क्षति पुर्याएको कालीगण्डकी करिडोेरअन्तर्गतको बेनी–जोमसोेम सडकखण्डकोे गलेश्वरस्थित राहुघाटको बेलिब्रिज मर्मतपछि सञ्चालनमा आएको छ ।
गएको असार २५ गते रातीको वर्षाले बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउँपालिका–३ को सिमानामा अवस्थित बेलिब्रिजको राहुघाटतर्फको जिप भत्काएपछि पूर्णरुपमा अवरुद्ध भएको ब्रिज मर्मतपछि सञ्चालनमा आएको बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख अशोक तिवारीले बताए ।
‘आजदेखी हलुका सवारी साधन सञ्चालनमा आएका छन्, केही दिन हेभी सवारीसाधनलाई आवतजावतमा रोक लगाइएको छ’ तिवारी भने । ब्रिजबाट विद्युतका ठूला उपकरण, हेभी इक्यूमेन्ट ढुवानीले पुल भाँसिन सक्ने जोखिमलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालयलाई निगरानीको लागि अनुरोध गरिएको छ ।
पुल पुननिर्माणमा जनश्रमदानसहित करिब ५० लाख खर्च भएको छ । पुुल मर्मतमा बेनी जोमसोम, कोरोला सडक आयोजनाको आकस्मिक कोषबाट खर्च हुने गरि मर्मत गरिएको तिवारीको भनाई छ ।
‘भदौ ८ गतेसम्मका लागि जिपसम्म पुलबाट आवाजजावत गर्न पाउने व्यवस्था मिलाईएको छ’ आयोजना सब–इन्जिनियर गजेन्द्र प्रसाद रावतले भने, ‘यो पुल अहिले पुरानो स्वरुपमा नै फर्किएको छ, पुलको क्षमता १८ दशमलब ५ टन सवारी साधनसहितको छ ।’ उनका अनुसार, भत्किएको पुललाई उठाउन भ्याटसहित १० लाख, पुलको दुवै साइटमा ४ सय ४६ घनमिटर ग्याविन लगाईएको छ ।
‘भत्किएको पुललाई मर्मत गरेर पुरानै स्वरुपमा ल्याउनका लागि ४६ लाख लागत लागेको छ’ रावतले भने, यसमा हामीले जनश्रमदानलाई राखेका छैनौ, जनश्रमदानसहित करिब ५० लाख लागत लागेको छ ।





