म्याग्दी, ७ भदौ– गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले म्याग्दीमा हुने विद्युत अनियमितताको समस्या समाधान गर्न नेपाल विद्युत प्रधिकरण गण्डकी प्रदेश प्रमुख टेकनाथ तिवारीलाई निर्देशन दिएकी छन् ।
आइतबार प्राधिकरण प्रमुख तिवारीलाई आफ्नै कार्यकक्षमा बोलाएर फिल्डमा गई समस्याको यथाशिघ्र समाधान गर्न निर्देशन दिएको मन्त्री पुनका स्वकीय सचिव प्रकाश पौडेलले जानकारी दिए । दैनिक दर्जनौंपटक विद्युत जाने आउने समस्याले हैरानी खेप्दै आएका म्याग्देलीको समस्यालाई छिट्टो समाधान गर्न मन्त्री पुनले प्राधिकरण प्रदेश प्रमुख तिवारीलाइ निर्देशन दिएकी हुन् ।
‘पोखराबाट हेरेर समस्याको समाधा हुँदैन्, फिल्डमै जानुहोस्, तत्काल समाधानका लागि टोली परिचालन गर्नुहोस्’ मन्त्री पुनको भनाई उद्धृत गर्दै पौडेलले भने । मन्त्री पुनले छिनछिनमै विद्युत कटौती हुनेदेखि विभिन्न स्थानमा एकहप्तासम्म बिजुली जाने समस्याले म्याग्दीबासीलाई दैनिक लोडसेडिङको झल्को दिइरहेको बताउँदै समस्याको दीर्घकालीन समाधानको प्रयास गर्न समेत माग गरेकी छन् ।
विगतमा समेत टिपिङ्गको समस्याले सर्वसाधारणदेखि व्यापारी आजित भएको बारेमा जानकारी गराएको भएपनि समस्या समाधान नभएको भन्दै मन्त्री पुनले प्राधिकरण प्रमुख तिवारीसँग असन्तुष्टी जनाएकी थिइन् । मन्त्री पुनलाई प्रमुख तिवारीले केही दिनभित्र जिल्लाको भ्रमण गरी समस्याको समाधानका लागि सक्रियता देखाउने प्रतिबद्धता जनाएको मन्त्रीका निजी सचिव पौडेलले जानकारी दिए ।
प्रमुख तिवारीले सडक मर्मत, हावाहुरी, बाढीपहिरोले रुख ढलेर तार चुँडिने, पोल ढल्ने समस्याका कारण विद्युत आपूर्तीमा समस्या भएको बताउँदै म्याग्दीमा निर्माणधिन अवस्थामा रहेको सव–स्टेशनको काममा समेत ढिलाई भइरहेको बताए ।
पर्वतको जलजला गाउँपालिकाको मिलनचोक सव–स्टेशनबाट ११ केभि क्षमताको प्रशारण लाइनबाट म्याग्दी जिल्लामा जम्मा तिनवटा फिडरबाट क्षमताभन्दा पाँचगुणा बढी लाइन वितरण गरिँदा दैनिक विद्युत ट्रिपिङ्गको समस्या झेल्नुपरेको छ ।
वि.स. ०६२ सालदेखि तीनवटा फिडरबाट सेवा दिइरहेको अवस्थामा प्रयोगकर्ता र क्षेत्र विस्तार गरिए पनि ठाउँ–ठाउँमा आवश्यक पर्ने संरचनाको अभावका कारण छिनछिनमा विद्युत जाने गरेको छ । क्षमता विस्तारमा ध्यान दिन नसक्दा अनियमित विद्युतको समस्या समाधान हुन सकेको छैन् ।





