म्याग्दी, ८ भदौ– म्याग्दी प्रहरीले २० वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं. ३ मुनाको दर गाउँमा बस्ने २२ बर्षिय गर्वे पाईजाको हत्यामा संलग्न ४४ वर्षिय चन्द्रवल घर्तीलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए ।
वि.स. २०५७ साल कात्तिक २१ गते राती प्रतिवादी घर्तीसहितको टोलीले मकैबारीमा बन्चरो प्रहार गरी पाईजाको हत्या गरेको अभियोगमा अदालतले दोषी ठहर गदैं २० बर्ष सजाय तोकेको थियो । प्रतिवादीलाई तोकिएको कैद सजाय भुक्तानको लागि जिल्ला कारागारमा पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय, म्याग्दीको फरार पक्राउ अभियानअन्तर्गत पछिल्लो २ महिनामा कर्तव्य ज्यान, डाँका चोरी, लागुऔषध लगायतका मुद्दाका १३ फरार कसुरदार व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।





