भदौ ११, तनहुँ– कोरोना भाइरसको संक्रमण रोक्न देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी छ । यो समयमा नियमित आयोजना हुने रक्तदानका कार्यक्रम हुन पाएको छैन् । नियमित रक्तदान हुन नपाएपछि रगतको अभाव हुन सक्छ । यसैलाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाईटी कास्कीले सञ्चालन गरेको रक्त संकलन एम्बुलेन्स बसमार्फत् विभिन्न संघसंस्थासंगको सहकार्यमा घरदैलोमा पुगेर रगत संकलन गरिरहेको छ ।
बुधबार तनहुँको दुलेगौँडामा आकस्मिक कार्यक्रम आयोजना गरेर एम्बुलेन्समा रक्तदान भयो । यहाँको विपीचोक, गाछेपानी र कवासेमा भएको रक्तदानमा ८५ युनिट रगत संकलन भएको आयोजक युवा नेपाल समिति तनहुँका अध्यक्ष ऋषेश्वर भुवाई ‘ऋतु’ले बताए । उनले निषेधाज्ञाको समयमा कतैपनि रगतको अभाव भएर अभावले सुत्केरी, डायलासिस, शल्यक्रिया गर्नुपर्ने र विभिन्न दुर्घटनामा परेका बिरामीले ज्यानै गुमाउनुपर्ने अवस्था नआओस् भनेर सामाजिक सञ्जालमार्फत रक्तदानका लागि आह्वान गरेमा उल्लेखनीय सहभागिता रहेको उनले बताए ।
दुलेगौँडाका एकनारायण गौतमले ३५ वर्षमा पहिलोपटक त्यही एम्बुलेन्समा रक्तदान गरे । कोरोना कहरले बिरामीलाई रगत अभाव भएको सुनेपछि आफूरक्तदानमा सहभागि भएको उनले बताए । ‘कोरोनाले निम्त्याएको बिषम परस्थितिमा रगतको अभाव हुनसक्छ । रगत अभावले कसैले ज्यान गुमाउनुपर्ने अवस्था आउनु हुदैन्’, उनले भने, ‘खेर जाने मेरो रगत दान गर्दा कसैको ज्यान बच्न सक्ने हुदाँ सहभागि भए ।’
रक्त संकलन एम्बुलेन्स नेपालमा पहिलोपटक पोखरामा चैत पहिलो साताबाट सञ्चालनमा ल्याएको रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिए । लकडाउन र निषेधाज्ञाको बेला यो एम्बुलेन्स निकै प्रभावकारी भएको उनले बताए । ‘रक्त एम्बुलेन्स नेपालकै लागि नयाँ प्रविधि हो । पहिला मोबाईल एम्बुलेन्समार्फत रगत संकलन भइरहेको थियो । अहिले दुईचार जनाले रगत दिन चाहे पनि एम्बुलेन्स त्यहीँ पुग्छ । लकडाउन र निषेधाज्ञाको बेलामा पनि रगत संकलन भइरहेकाले देशका अन्य ठाउँमा जस्तो कास्कीमा अभाव छैन्’, उनले भने ।
हाल कास्की, तनहुँ र स्याङजा लगायतको जिल्लामा पुगेर एम्बुलेन्सले रगत संकलन गरीरहेको छ । रक्त एम्बुलेन्स कास्की रेडक्रसलाई रोटरी क्लब अफ पोखरा अन्नपूर्ण र कोरियास्थित आरआई डिस्ट्रिक ३६९०, रोटरी क्लब अफ याङजुले उपलब्ध गराएको हो । एम्बुलेन्सभित्रै रक्तदान मिल्छ ।





