बागलुङ, १४ भदौ– तत्कालिन प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु नेतृत्वको जिल्ला कमाण्ड पोष्टको काममा रुष्ट थिए जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना । कोरोना संक्रमितको व्यवस्थापन र सूचना प्रवाह प्रभावकारी हुनुपर्ने अपेक्षा थियो उनको । त्यो भूमिकामा कमाण्ड पोष्टको काम चित्त नबुझेर उनले जिल्लाका सबै स्थानीय तहलाई एकै ठाउँमा भेला गरे । आइसोलेसन र प्रि–आइसोलनको व्यवस्थापन गर्ने कामको नेतृत्व आफै गरे । सवैलाई सचेत रहन आग्रह गरे । स्थानीय सरकारको अनुुभुती जनतालाई दिलाउन स्थानीय तहलाई निर्देशन गरिरहे । बागलुङका सवै स्थानीय तहले कोरोना रोकथामका लागि संचालन गरेका गतिविधि बुझ्न उनी कुना–कन्दरा आफै पुगे ।
कोरोना संक्रमण नियन्त्रण बढ्दै जाँदा जिल्लाबासीको समस्या समाधानका लागि नेतृत्व गर्न कस्सिएका ढुंगाना यतिबेला भने धौलागिरि अस्पतालको आइसोलेसन कक्षमा स्वास्थ्यलाभ गरिरहेका छन् । कोरोना कहरको लहर चलेपछि ढुंगाना पनि त्यो लहरबाट बँच्न सकेनन् । जिल्लामा तीन सयको हाराहारीमा संक्रमितको संख्या पुग्दा उनी त्यसको एक हिस्सेदार बने । आईसोलेसन र क्वारेन्टाईन स्थलमा समेत निर्धक्क पुग्ने उनी अहिले संक्रमित बनेर अस्पतालमा छन् । भन्छन, सवै सचेत र सजग नवनेसम्म कोरोनाबाट मुक्ति पाउन कठिन छ ।
सुरु सुरुमा कमाण्ड पोष्टले कोरोना संक्रमण पुष्टि भएकालाई कहाँ राख्ने भन्ने विषयमा जिम्मेवारीबोध नगर्दा विकटका स्थानीय तह अलमलमा थिए । सवैलाई पायक पर्ने क्षेत्रमा आइसोलेसन र प्रि–आइसोलन बनाउने काममा ढुंगानाले नै नेतृत्वदायी भूमिका खेले । कोरोना संक्रमितलाई क्षेत्रगत व्यवस्थापन गर्न प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ, निजीभुजी जनता क्याम्पस बुर्तिवाङ, नरेठाँटी स्वास्थ्य चौकी गलकोट र धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा आइसोलेसन र प्रि–आइसोलेन निर्माणको कामले पूर्णता पाए ।
कोरोनाको कहर बढेसंगै हरेक पालिकाका क्वारेन्टाइन, स्वास्थ्य संस्थादेखि आइसोलनसम्म पुगेर गतिविधि बुझेका ढुंगाना, आफुमा कसरी कोरोना संक्रमण भयो भन्ने मेसो नै पाएका छैनन् । ‘म एकदम चनाखो मान्छे, हरेक क्वारेन्टाइन, स्वास्थ्य संस्था पुग्दा, भेला, बैठक र कार्यक्रममा सहभागी हुँदा समेत सचेतना अपनाउँदै आएको थिएँ, कसरी संक्रमित भए अचम्मित छु,’ उनले भने ।
उनलाई थोरै शंका छ, गत साउन १२ गते दैवी प्रकोप समितिको बैठक सकेर ढुंगाना कामको शिलशिलामा पोखरा, चितवन हुँदै काठमाडौं पुगेका थिए । त्यही ट्राभल हिस्टीको आधारमा परिक्षण गर्दा ढुंगानामा कोरोना पोजेटिभ देखिएको हो कि ! गत साउन ३० गते कोरोना पुष्टि भएसंगै ढुंगाना १६ दिनदेखि धौलागिरि अस्पतालको आइसोलेसनमा छन् । समय–समयमा तातोपानी पिउने, पत्रपत्रिका र छोटा पुस्तक पढ्ने, अनलाइनका समाचार हेरेर ढुंगानाका दिन गुज्रन्छन् । ‘साथीभाईसंग हाइ–हेल्लोदेखि कार्यक्रममा दौडधुप गर्नुपर्ने दैनिकी आइसोलेसनमा सिमित हुँदा कतिबेला त अत्यासै लाग्छ, यद्यपी साथीभाई र शुभचिन्तकको फोन आउँदा सबै कुरा नर्मल भईदिन्छ ।’
साथीभाईले कोरोना जित्नुपर्छ, आत्मबल बढाउनु पर्छ भन्दै सुझाव दिईरहँदा ढुंगाना ढुक्क छन् । चिन्ता केही छैन्, बरु जिल्लामा संक्रमण समुदायमा फैलिदा अरुलाई के के हुने हो भन्ने पो चिन्ता छ, उनी भन्छन ।
भित्रै रहँदा उनलाई बाहिरी आफ्नो अड्डाको कामको पनि चिन्ता छ । ‘नयाँ आर्थिक वर्ष सुरु भएसंगै जिल्ला समन्वयमा नयाँ कार्यक्रम आउँछन्, त्यसको विषयमा छलफल गर्नुपर्ने हो, म नभए पनि साथीहरुले गर्नुभएको छ ।’ उनले आफ्नो काम र जिम्मेवारी सम्झिए, ‘मैले फोनबाट सुझाव, सल्लाह र हुने काम गर्दै आएको छु ।’ ढुंगानाले ढोरपाटनसंग टेलिफोनमा भने– ‘अधुरा योजनाको म्याद थपदेखि फिल्डमा जाने काम पछि धकेलिएका छन् । विस्तारै गर्दै जाुनपर्ला ।’
आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको वताउने समन्वय प्रमुख ढुंगानाले कोरोना जित्नेमा आफु ढुक्क रहेको बताए । ‘ढिलोचाँडो कोरोना जित्नेमा म ढुक्क छु’ उनले भने । बागलुङमा कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिएको छ, जनजीवन आतंकित बनेको छ । नागरिक सचेतनाबिना कोरोना संक्रमण नियन्त्रण गर्न असंभव रहेको उनले दोहोराईरहे । नागरिक जागरुक भई स्वास्थ्यका मापदण्ड पालना गर्नु विकल्प छैन, ढुंगानाको सुझाव छ, ‘सवैले यसलाई ब्यवहारमा कार्यान्यन गरौं ।’
अस्पतालमा स्वास्थ्यकर्मीको व्यवहार र त्यहाँको व्यवस्थापनमा उनी सन्तुष्ट छन् । विहानदेखि रातीसम्म चिकित्सकदेखि स्वास्थ्यकर्मीसम्मले प्रभावकारी रुपमा आफ्नो ड्युटी निभाएकै छन् । बाहिर रहेकालाई उनको पालना गर्नैपर्ने सुझाव पनि छ, ‘म सजगता अपनाउँदा अपनाउँदै पनि संक्रमित भए, हजुरहरुले अझ बढि सजगता अपनाउनुहोला । कोरोनासँग कसैले पनि खेलवाड गर्न मिल्दैन ।





