स्याङ्जा, १५ भदौ– विद्यालयको बरान्डाभरि असरल्ल मकै अनि त्यहीं मकै छोडाउन व्यस्त देखिन्छ केही व्यक्तिहरु । यो दृश्य हो– स्याङ्जा गल्याङ नगरपालिका–११ स्थित बज्रे भञ्ज्याङ् माविको शिक्षालाई उत्पादनसंग जोड्दै व्यवहारिक शिक्षा दिने उद्देश्यका साथ विद्यालयले शुरु गरेको तरकारी खेती अहिले व्यावसायिक उत्पादनसंग जोडिन पुगेको छ ।
कोरोना संक्रमणले विद्यालय बन्द भएपनि बज्रे भञ्ज्याङका शिक्षकहरु विद्यालयको आन्तरिक आयस्रोतलाई वृद्धि गर्दै शिक्षाको गुणस्तर सुधार गर्ने योजनामा दत्तचित्त छन् ।
विद्यालयमा कार्यरत शिक्षकहरुले बन्दाबन्दीको समयलाई सदुपयोग गर्दै अदुवा खेतीसंगै मकै र तरकारी खेती गरेर जिल्लामै नमुना कार्य गरेका छन् ।
विद्यालयका प्रधानध्यापक नेत्रप्रसाद गैह्रे विद्यालयले सञ्चालन गरेको कृषि खेतीबारे धेरैले जिज्ञासा राख्ने गरेको बताउँछन् । ‘हामीले विद्यालयको आन्तरिक आयस्रोत वृद्धि गर्दै विद्यार्थींलाई उत्पादनसंग जोड्न यो अभियान सञ्चालन गरेका हौ’ गैह्रेले भने । विद्यालयको अभियानबारे स्थानीयसमेत प्रष्ट भएपछि खुलेर सहयोग गर्न थालेको उनको भनाई छ ।
गल्याङ नगरपालिकासंग समन्वय गरेर विद्यालय नजिकै रहेको २५ रोपनी जमीन भडामा लिएर अदुवासंगै मकै र तरकारी खेती गरेको प्रअ गैह्रेले बताए । विद्यार्थीलाई कृषिबारे व्यवहारिक ज्ञान दिने लक्ष्यअनुसार कक्षागत रुपमा स–साना क्यारीबाट सुरु गरिएको तरकारी खेतीले व्यावसायीक रुप लिएसंगै विद्यालयको आम्दानीको स्रोत समेत बन्न पुगेको छ ।
आफुहरुको बाँच्ने आधारनै विद्यालय भएकोले विद्यालयलाई नमुनाका रुपमा स्थापित गर्ने योजनाअनुसार विशेष गरेर ६ जना शिक्षक विद्यालयमै बसेर कृषि कर्ममा लागेको शिक्षक भोजराज भण्डारीले बताए । विद्यालयको उदाहरणिय कार्यले विद्यालयको नजिकै रहेका स्थानीयलाई समेत कृषि कर्ममा लाग्न प्रेरित गरेको स्थानीय झमनी सिंजालीले बताउँछिन । विद्यालयले कृषिको महत्व बुझाएपछि आजभोली घरमा पनि आफ्ना छोराछोरीहरुले तरकारी खेतीतर्फ रुची देखाएको सिंजालीको भनाई छ ।
विद्यालयले गोलभेडादेखि तरकारीबाट झण्डै ६० हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । २५ रोपनी क्षेत्रफल जमीनमा लगाएको मकैबाट करिब आठ मुरी मकै उत्पादन भएकोले मकैलाई टेन्डर गरेर विक्री गर्ने तयारी गरिएको र अदुवाको आम्दानी भने लिनै बाँकी रहेको विद्यालका शिक्षक यामप्रसाद पाण्डेले जानकारि दिए ।




