मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

म्याग्दीमा बाढीपहिरो : ४ सय १६ घरमा क्षति, ११ जनाको मृत्यु

म्याग्दीमा बाढीपहिरो : ४ सय १६ घरमा क्षति, ११ जनाको मृत्यु


  • अमृत बास्कुने
  • असोज २० २०८३, मंगलबार
ड्रोनबाट इन्धन ढुवानी गर्दै नेपाली सेना । तस्बिर : अमृत बास्कुने

म्याग्दी/असोज ८ देखि ११ गतेसम्म परेको भीषण वर्षापछि आएको बाढीपहिरोले म्याग्दीमा ठूलो जनधनको क्षति गरेपनि क्षतिको पूर्ण तथा अद्यावधिक विवरण संकलन हुन सकेको छैन । सडक, सञ्चार र विद्युत् सेवा अवरुद्ध हुँदा जिल्लाका दुर्गम तथा जोखिमयुक्त क्षेत्रमा पुग्न कठिन भएपछि भौतिक संरचनातर्फको वास्तविक क्षतिको विवरण अझै एकिन हुन नसकेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार, म्याग्दीभित्र बाढीपहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने २ जना अझै बेपत्ता छन् । यसबाहेक मालिका गाउँपालिका घर भएका दुई जनाको बागलुङ जिल्लामा मृत्यु भएको छ । यसरी विपद्का कारण जिल्लाले ११ जना गुमाएको आचार्यले बताए ।

असोज ११ गतेदेखि वर्षा रोकिए पनि बाढीपहिरोले क्षतिग्रस्त सडक, पुल, सञ्चार तथा विद्युत् संरचना र दुर्गम बस्तीमा पुग्न नसकिएका कारण क्षतिको पूर्ण विवरण संकलनमा ढिलाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

हालसम्म संकलित विवरणअनुसार जिल्लाका छ स्थानीय तहमध्ये अन्नपूर्ण गाउँपालिकामा सबैभन्दा ठूलो भौतिक तथा मानवीय क्षति भएको छ । अन्नपूर्णमा मात्रै १ सय ८३ घर र ११ गोठमा क्षति पुगेको छ । चार विद्यालयमा समेत क्षति भएको छ । अन्नपुर्णमै बेनी जोमसोम सडक खण्डमा पर्ने कालीगण्डकी नदि माथिको पुलमा समेत क्षति भएको छ । बाढीपहिरोमा परी पाँच जनाको मृत्यु र एक जना बेपत्ता छन् । विपद्को जोखिमबाट २ सय ४८ जनालाई सुरक्षित स्थानमा सारिएकोमा १ सय १५ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए ।

बेनी नगरपालिकामा ८८ घर र २८ गोठमा क्षति पुगेको छ । थप ४५ घर जोखिममा रहेका छन् । विपद्को जोखिमबाट १ सय ४३ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ भने एक जना अझै बेपत्ता छन् ।

रघुगंगामा ५८ घर र २६ गोठमा क्षति पुगेको अध्यक्ष भवबहादुर भण्डारीले बताए । उनका अनुसार, २९ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाढीपहिरोका कारण शिखर आधारभूत विद्यालय र चन्द्र आधारभूत विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने दुईवटा झोलुङ्गे पुलसमेत बगाएको छ ।

मंगला गाउँपालिकामा ७८ घर र ३७ गोठमा क्षति पुगेको छ भने ५५ घर जोखिममा छन् । ९२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो । प्रशासन कार्यालयका अनुसार पहिरोमा परी एउटा भैँसी र पाँचवटा बाख्रा मरेका छन् ।

मालिका गाउँपालिकामा ७ घर र २ गोठमा क्षति पुगेको छ भने २७ जनालाई बाढीपहिरोको जोखिमबाट सुरक्षित स्थानमा सारिएको थियो । गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाका अनुसार, मालिकाका चार जनाको मृत्यु भएको छ । तीमध्ये दुई जनाको पालिकाभित्रै र दुई जनाको बागलुङमा आफन्तको घरमा गएको समयमा मृत्यु भएको हो । दरवाङ बोर्डिङ स्कुलको एउटा भवनमा समेत क्षति पुगेको गर्बुजाले बताए ।

जिल्लामा तुलनात्मक रूपमा कम क्षति धवलागिरी गाउँपालिकामा भएको छ । हालसम्मको विवरणअनुसार त्यहाँ ६ घर र ३ गोठमा क्षति पुगेको छ । चार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको तथा दुईवटा भैँसी पहिरोमा परी मरेका सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

प्रशासनका अनुसार हालसम्म जिल्लाभर ४ सय १६ घर र १ सय ६ गोठमा क्षति पुगेको विवरण संकलन भएको छ । तर, यो विवरण अन्तिम भने होइन । दुर्गम तथा सडक, सञ्चार र विद्युत् सम्पर्कबाट प्रभावित क्षेत्रमा थप विवरण संकलन हुन बाँकी रहेकाले क्षतिको आकार अझै बढ्न सक्ने देखिएको छ ।

सडक खुलेपनि बेनी–जोमसोमको सिधा यातायात अझै जोडिएन
बाढीपहिरोले क्षतिग्रस्त बेनी–जोमसोम सडकमा अझै सिधा यातायात सञ्चालन हुन सकेको छैन । बेनी–गलेश्वर र गलेश्वर–बैसरी खण्डमा आंशिक रूपमा सवारी सञ्चालनमा आए पनि बैसरी–पोखरेबगर खण्ड अझै अवरुद्ध छ ।

पोखरेबगर–घाँसा सडक भने सञ्चालनमा रहेको छ । बेनी–दरबाङ सडकमा साना सवारीसाधन सञ्चालनमा आएका छन् भने बेनी–बागलुङ सडकखण्ड पनि आंशिक रूपमा सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए ।
सडक खुलाउने कामलाई तीव्रता दिन बेनी–जोमसोम सडकअन्तर्गत राहुघाट क्षेत्रमा चार स्काभेटर, दुई लोडर र पाँच टिपर परिचालन गरिएको छ । बैसरीमा तीन स्काभेटर र छ टिपर, रातोपानीमा एक स्काभेटर तथा पोखरेबगर क्षेत्रमा दुई लोडर, दुई स्काभेटर र दुई टिपरले सडक खुलाउने काम गरिरहेका छन् ।

सञ्चार र विद्युत् सेवा अझै पूर्ण रूपमा सहज भएन
नेपाल टेलिकमका जिल्लामा रहेका ४१ बीटीएसमध्ये अझै सातवटा सञ्चालनमा आउन बाँकी छन् । कार्यालय प्रमुख युवराज पौड्यालका अनुसार सञ्चार सेवा नियमित बनाउन प्रयास भइरहेको भए पनि सडक र विद्युत् अवरोधका कारण मर्मत तथा उपकरण पु¥याउने काममा ढिलाइ भएको हो ।

विद्युततर्फ अन्नपूर्ण गाउँपालिकाको शिखघार, पोखरेबगर र घोडेपानी क्षेत्र तथा मुस्ताङतर्फ जाने प्रसारण लाइनमा क्षति पुगेको छ । क्षतिग्रस्त संरचनाको मर्मत कार्य जारी रहेको विद्युत् कार्यालयले जनाएको छ ।

दाना–कुश्मा २२० केभी प्रसारण लाइनअन्तर्गत दाना सबस्टेशनदेखि राहुघाट सबस्टेशनसम्म पुगेको क्षतिको मर्मतसमेत भइरहेको छ । यसैबीच बेनी बजारको मुख्य खानेपानी पाइपलाइन र इन्टेकमा क्षति पुगेपछि बेनी खानेपानी तथा सरसफाइ आयोजनाले वैकल्पिक माध्यमबाट खानेपानी वितरणको प्रयास गरिरहेको जनाएको छ ।

दुर्गम क्षेत्रमा इन्धन पु¥याउन ड्रोन र मानव साङ्लो
विपद्पछि सडक अवरुद्ध हुँदा इन्धन ढुवानीसमेत चुनौतीपूर्ण बनेको छ । नेपाली सेनाको ड्रोनमार्फत सोमबार ४ सय लिटर इन्धन ढुवानी गरिएको छ । रघुगंगा गाउँपालिका–२ कुनौटाबाट रघुगंगा–१ बेगखोलासम्म ड्रोनमार्फत इन्धन पु¥याइएको हो ।

यसअघि नेपाली सेनाको गुरु गोरख गुल्मको अगुवाइमा आइतबार ७४० लिटर इन्धन मानव साङ्लो बनाएर ढुवानी गरिएको थियो । सडकमार्ग अवरुद्ध भएपछि अत्यावश्यक वस्तु तथा इन्धन आपूर्तिका लागि स्थानीय, सुरक्षाकर्मी र सरकारी संयन्त्रले वैकल्पिक उपाय अपनाइरहेका छन् ।

विपद् व्यवस्थापन, उद्धार तथा राहतका लागि जिल्लामा नेपाली सेनाका १६५, नेपाल प्रहरीका २५१ र सशस्त्र प्रहरी बलका ६० जना जनशक्ति परिचालन गरिएको छ ।

वर्षा रोकिएर जनजीवन सामान्यतर्फ फर्किन थाले पनि म्याग्दीमा विपद्ले छाडेको घाउ भने अझै पुरिएको छैन । सडक, सञ्चार, विद्युत्, खानेपानी र शैक्षिक संरचनाको क्षति मर्मतसँगै विस्थापित तथा जोखिममा रहेका परिवारको सुरक्षित व्यवस्थापन मुख्य चुनौतीका रूपमा रहेको छ । सबै प्रभावित क्षेत्रमा स्थलगत रूपमा पुगेर क्षतिको अन्तिम विवरण संकलन भएपछि मात्रै यसपटकको बाढीपहिरोले म्याग्दीमा पु¥याएको वास्तविक क्षतिको तस्वीर स्पष्ट हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->