म्याग्दी, १६ भदौ– कोरोना संक्रमण फैलिन नदिन मानिसहरुको धेरै आउजाउ हुने बेनी–पारिबेनी जोड्ने झोलुङ्गे पुलमा फलामको बार लगाई चाल्चा ठोकिएको छ ।
छिमेकी जिल्ला बागलुङमा समुदायस्तरमा कोरोना फैलिएकोले बागलुङका साथै अन्य जिल्लाबाट आवतजावतलाई कडाइ गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) म्याग्दीले झोलुङ्गे पुलमा ताल्चा लगाएको हो ।
सो पुलबाट सर्वसाधारणको आवतजावतले कोरोना संक्रमणको खतरा भएकोले पुल बन्द गरिएको सिसीएमसीले जनाएको छ ।
पुल बन्द गरिएपछि दैनिक आवतजावत गर्नुपर्ने व्यक्तिहरुले भने परिचय पत्रको आधारमा आवतजावत गर्न दिनुपर्ने माग गरेका छन् । जिल्ला बाहिरबाट आएकालाई कडाइ गरेपनि स्थानीयतलाई भने सहज बनाउनु पर्ने पर्वत बेनीका नविन जिसीले बताए ।
यता, कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको पिसिआर परीक्षणको काम भैरहेकोले अनुकुल समय मिलाएर आवत जावतलाई सहज बनाइने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीमा हाल बाहिरबाट सरुवाभई आएका एकजना प्रहरी बाहेक अरुलाई सक्रिय कोरोना संक्रमण देखिएको छैन ।





