स्याङ्जा, १७ भदौ– स्याङ्जाको विकट मानिने मिर्मी । जब, कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको निर्माणसँगै एकाएक सुगममा परिणत भयो । स्याङ्जाको मात्रै पहिचान होइन, मुलुक्कै मुहार झलमल पार्ने जलविद्युत् परियोजना हो कालीगण्डकी ‘ए’ । २०५३ सालमा निर्माण कार्य सुरु भएर ०५९ सालमा सम्पन्न भएको हो ।
१ सय ४४ मेगावाट विद्युत् उत्पादन क्षमताको यो जलविद्युत् आयोजनाले देशै उज्यालो पार्ने मात्रै नभई स्थानीयहरूलाई रोजगारीसमेत दिएको छ । हालको कालीगण्डकी गाउँपालिकामा रहेको यो जलविद्युत् केन्द्रको पावरहाउस बेलटारीमा रहेको छ । मिर्मीमा ड्याम निर्माण गरेर कालीगण्डकी नदीको पानी सुरुङमार्फत बेलटारीमा खसालेर विद्युत् उत्पादन गरिएको छ ।
विद्युत् उत्पादनका लागि निर्माण गरिएको ड्याममा ताल बनेपछि कालीगण्डकी नदीमा सञ्चालनमा आएका ‘स्टिमर’ले स्याङ्जा, गुल्मी र पर्वतका स्थानीयको दैनिकीमा सहजता ल्याएको छ । जलयात्रा गर्न चाहने पारखीका लागि आन्तरिक एवं बाह्य पर्यटकहरूलाई समेत मनोरञ्जन दिने काममा योगदान पु¥याएको छ । एसियाकै ठूलो शिला शालिग्राम रहेको गल्याङ नगरपालिका–५ मा रहेको सेतीबेनीमा शिलाको दर्शन गर्न आउने हजारौँ भक्तजनसमेत जलयात्रा गरेर जाने गरेको कालीगण्डकी गाउँपालिका–६ का विष्णु न्यौपानेले बताए । मिर्मीदेखि सेतीबेनीसम्मको ७ किलोमिटरको जलयात्रा करिब ३० देखि ४५ मिनेटमा पार गर्न सकिन्छ । यसले स्याङ्जाको समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।




