पोखरा, २३ भदौ– गण्डकी प्रदेशमा कोरोना मंगलबार ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माका अनुसार मंगलबार बिहान २ जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु नवलपुरको गैँडाकोट नगरपालिका–२ की ५७ वर्षीया महिला र २२ वर्षीय पुरुष, वडा नम्बर ५ का ३८ वर्षीय पुरुष र ३२ वर्षीया महिला तथा वडा नम्बर ८ की २५ वर्षीया महिला रहेका छन् । यस्तै, कावासोती नगरपालिका–२ की २३ वर्षीया युवतीमा पनि सङ्क्रमण रहेको पुष्टि भएको छ । कास्कीको पोखरा महानगरपालिकाका पाँचजनामा पनि संक्रमण रहेको पाइएको छ । संक्रमितहरु वडा नम्बर १४ का ३७ वर्षीय पुरुष, वडा नम्बर १५ का २० वर्षीय पुरुष, वडा नम्बर १२ का २६ र २२ वर्षीय पुरुष र वडा नम्बर २७ का ४२ वर्षीय पुरुष रहेका छन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितहरुको संख्या दुई हजार ६१२ पुगेको छ । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा २० जनाको मृत्यु भइसकेको छ ।





